
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दै छ । सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाउनु भएको बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा आज बिहान ११ बजे बस्ने भएको हो बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि बोलाइएको एमाले निकट स्रोतले जनाएको छ । १० बुँदे सहमति अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक स्थगित भएको थियो ।
स्थायी कमिटी बैठकपछि तीन बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा संसदीय दलको पनि बैठक बोलाइएको छ । प्रतिनिधिसभा पुनःस्थापना भएर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अझ कटुता बढेको छ ।
१० बुँदे सहमति भइसक्दा पनि ओली र नेपालबीच कटुता अझ बढ्दै गएपछि विभाजनलाई रोक्न दोस्रो तहका नेता पुनः सक्रिय भएका छन् । बिहीबार उनीहरूकोे अनौपचारिक बैठक बसेको थियो । यो बैठकले नै स्थायी कमिटी बैठक बोलाएर एकता जोगाउनु पर्ने दबाब दिएपछि शुक्रबारलाई स्थायी कमिटीको बैठक बोलाइएको बताइएको छ ।
बैठकमा दुवै पक्षका नेता, नेकपा एकताका क्रममा थपिएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापाका साथै रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त समेतलाई बोलाइएको छ
प्रतिक्रिया