Pura Samachar

तत्काल लिग गर्नु उपयुक्त छैन’

प्रकाशित: July 20, 2021

तत्काल लिग गर्नु उपयुक्त छैन’

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज ३ गतेबाट ए डिभिजन लिग संचालनको तयारी थाल्दै गर्दा चार वटा क्लबले असहमति जनाएका छन्।

मंगलवार थ्री स्टार क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबले उपयुक्त समयमा मात्र लिग गराउन भन्दै एन्फामा निवेदन दिएका छन्। जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापा, थ्री स्टार क्लबका महासचिव सञ्जिव सिल्पाकार र ब्रिगेड ब्वाइजका अध्यक्ष डा लालकुमार पुनले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई निवेदन दिएका हुन्।

यसअघि असार १४ मा बसेको एन्फा र ए डिभिजन क्लबबिचको बैठकमा मार्केटिङ सम्बन्धीमात्र चर्चा भएको र ३१ गते मेलमार्फत साउन १० भित्र खेलाडी दर्ता सम्पन्न गर्न भनिएको एन्फाको एकतर्फी कुरा रहेको भन्दै निवेदनमा असहमति जनाइएको छ।

‘असोज ३ गतेबाट सुरु हुने भनिएको शहीद स्मारक ए डिभिजन लिग कोभिडको भयाभह स्थितिका कारण आयोजना गर्न कुनै पनि हालतमा उपयुक्त नदेखिने हुँदा कम्तीमा पनि संक्रमण दरमा अत्याधिक कमी आइसके पछिमात्र ए डिभिजन लिगलगायत फुटबल गतिविधि गराउन उपयुक्त देखिन्छ,’ एन्फामा दर्ता गरिएको निवेदनमा भनिएको छ।

क्लबहरुले नेपाल लगायत दक्षिण एसियामा कोभिड फैलिएको, भ्याक्सिनेसनको दर अझै कम रहेको, स्वास्थ विज्ञहरुले अझै गतिविधि नगर्न सुझाएको तर्क गर्दै ए डिभिजन लिग उपयुक्त समय कुरेर गर्न सुझाव दिएका हुन्।

प्रतिक्रिया