काठमाडौं । गायक सुगम पोखरेलले स्टेज पफर्मेन्सको पारिश्रमिक नदिने आयोजकको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन् । कार्यक्रम सकिएको वर्ष वितिसके पनि विभिन्न वहाना देखाएर पारिश्रमिक नदिने आयोजकको तस्बिरसहित नाम सार्वजनिक गर्ने उनले चेतावनी दिएका हुन् ।
“कार्यक्रम गरेको वर्ष वितिसके पनि विभिन्न बहाना बनाएर पारिश्रमिक नदिने गरेपछि अति भएर मुख खोल्न वाध्य भएको हुँ । २४ घण्टामा आयोजक सम्पर्कमा नआए तस्बिरसहित नाम सार्वजिनक गर्छु,” सुगम भन्छन्, “साँच्चै अफ्ठ्यारो नै परेको होला भनेर आठ दश महिनासम्म कुर्दा पनि नदिए पछि नियतमै खोट देखियो ।”
सहनशीलताई नै आयोजकले कमजोरी ठान्ने गरेको भन्दै सुगम भन्छन्, “अगाडिको कार्यक्रमको पारिश्रमिक नदिने तर अर्को कार्यक्रम गर्ने गरेपछि नियत नै खराव भएपछि धैर्यताको सीमा टुट्दो रहेछ । कति त आफ्नै चिनजान र साथीभाइ नै हुन्छन् । पुलिस प्रशासनको झमेलामा किन लाग्नु भन्यो, तर यहाँ यही सहनशीलतालाई नै कमजोरीका रुपमा लिने गरेको देखियो ।”
सुगमले नेपाल भित्र र बाहिर गरेर आठवटा कार्यक्रमको पारिश्रमिक लिन बाँकी रहेको उनको भनाइ छ । कतिले फोन नै नउठाउने, उठाउनेहरु विभिन्न बाहाना देखाएर समय सार्दैै झुलाउने गरेको उनी बताउँछन् ।
कर्पोरेट हाउसहरुबाहेक अरुले पछिल्लो समय पारिश्रमिक समयमै नदिने र दिए पनि वर्षौंसम्म झुलाउने क्रम बढेको सुगमको अनुभव छ । “आठ दश वर्ष अगाडि आयोजक टिकट बिक्री भएन, स्पोन्सर पाइएन भनेर श्रीमतीको गहना बेचेर दिउँ भनेर श्रीमतीलाई अगाडि ल्याएर गहना फुकाल् भन्थे । कोही गाई डोर्याउँदै ल्याएर यही बेचेर दिन्छु भन्थे । त्यस्तो अवस्था देखेपछि केहीसमय पछि पैसा पठाइदिनुस् भनेर फर्कियो । तर कहिल्यै पठाइदिँदैन थिए,” सुगम भन्छन्, “अहिले केही समय यता त्यस्तै अवस्था देखिन थालेको छ । कलाकारको ब्याबसाय नै यही हो । यसबाटै घर ब्यबाहार चलाउनुपर्छ भन्ने बुझ्नुपर्छ ।”
सुगम आफूहरुले आयोजकसँग पफर्मेन्स गरेको पैसा माग्ने गरेको भन्दै यसलाई भिखका रुपमा नबुझ्न आयोजकलाई चेतावनी दिन्छन् ।
पारिश्रमिक नदिने आयोजकको नाम सार्वजनिक गर्ने सामाजिक सञ्जालमार्फत जानकारी दिएको केही घण्टाभित्रै केही आयोजक सम्पर्कमा आएको भन्दै उनले नआउनेको तस्बिर र नाम सार्वजनिक गर्न आफू वाध्य हुने उनी बताउँछन् ।
आयोजकसँग गरेको सम्झौता पत्र आफू सुरक्षित रहेकाले कानुनी बाटो रोज्ने उनले बताए ।
प्रतिक्रिया