Pura Samachar

जनताले नरुचाउने काम नगर्न युथ फोर्सलाई सुझाव: ईश्वर पोखरेल

प्रकाशित: July 24, 2021

जनताले नरुचाउने काम नगर्न युथ फोर्सलाई सुझाव: ईश्वर पोखरेल

पाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले जनताले नरुचाउने कुनै पनि काम नगर्न सुझाव दिएका छन् ।

एमालेको भातृ संगठन युवा संघले आयोजना गरेको युथ फोर्स भ्याली कमाण्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई लत्याउन खोजियो भने त्यसको प्रतिवाद युवाहरूले गर्नुपर्ने बताए ।

सभामा पोखरेलले भने, ‘हामी संविधानको सर्वोच्चतालाई मान्छौं । कानूनी शासनलाई मान्छौं । कानूनलाई मिचेर अघि बढ्न खोजिन्छ भने जनताको जनमतलाई लत्याउन खोजिन्छ भने त्यसको जवाफ युथ फोर्सले दिनुपर्छ ।’

युथ फोर्सले जनताले नरुचाएको काम नगर्ने, उत्पादनका कुरासँग जोडिने, रोजगारी र स्वरोजगारीको पक्षमा अभियान चलाउने काम गर्नुपर्ने पोखरेलको भनाइ थियो ।

‘शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिलाई निषेध गर्न खोज्छ भने त्यसलाई युथ फोर्सले प्रतिवाद  गर्नुपर्छ,’ उनले भने ।

एमालेकै केही नेताहरूले भने बाहुबली संगठनहरू अस्तित्वमा ल्याइएको विरोध गरिरहेका छन् । नेता योगेश भट्टराईले सार्वजनिक रूपमा नै अखिल र युथ फोर्स खारेजीको माग गरेका छन् ।

नेकपा एमाले संस्थापन पक्ष र वरिष्ठ नेता माधव नेपाल पक्षबीच विवाद बढेपछि एक अर्का विरूद्ध प्रयोग गर्न युवाहरू परिचालन गरेर बाहुबली संगठन घोषणा गर्ने होड नै चलेको छ ।

प्रतिक्रिया