
काठमाडौँ – काठमाडौँ उपत्यकामा केही दिनयता विभिन्न बहानामा आन्दोलन र विरोध प्रदर्शन गर्ने क्रम बढेको छ । पछिल्लो समय बढेको कोरोना संक्रमणको दरलाई वेवास्ता गरी राजनीतिक दलका संगठन नै प्रदर्शनमा उत्रिएका छन् । जसले संक्रमणको जोखिमलाई पुनः फैलिन मद्दत गर्ने जनस्वास्थ्यविद्हरुको चेतावानी छ ।
सरकारले निषेधाज्ञा खुकुलो बनाएसंगै कोरोना महामारीकोसंक्रमण फेरि तीब्र रूपमा फैलिन थालेको छ । अधिकांश बजार, व्यवसाय तथा कामकाजका क्षेत्र खुलेर बढेको भीडभाड र स्वास्थ्य मापदण्ड पालनामा वेवास्ता गर्दा संक्रमण बढीरहेका बेला राजनीतिक दलका संगठनहरुले सडकमै उत्रिएर विरोध प्रदर्शनहरु गर्न थालेपछि समस्या झनै विकराल बन्न थालेको हो ।
नयाँ स्वरूपको भाइरस भित्रिएको भनेर जनस्वास्थ्यविद्हरुले सावधानी अपनाउन सुझाव दिइरहेका बेला फेरि पनि प्रदर्शन र आन्दोलनको लहर चलेको छ ।गतवर्ष पनि कोरोना नियन्त्रणमा नआउँदै राजनीतिक दलहरु सडक प्रदर्शन र नाराजुलुसमा उत्रिएपछि कोरोनाको दोस्रो लहरले भयावह रुप लिएको थियो । जसको असर नसकिदै अहिले फेरि राजनीतिक दलका नेता कार्यकर्ता पुनः आन्दोलन र भिडभाड गर्न लागिपरेका हुन् । सडकका दैनिक दृश्य हेर्ने हो भने लाग्छ, कोरोना संक्रमण निर्मूल भइसक्यो । अब डराउनुपर्ने स्थिति नै छैन ।
यो क्रम सर्वोच्च अदालतले असार २८ मा प्रतिनिधिसभा पुनःस्थापना गरेपछि झनै बढेको छ । अदालतको फैसला असबैधानिक भएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेता कार्यकर्ताहरुले दैनिक प्रदर्शन गरिरहेका छन् । त्यसबाहेक सार्वजनिक यातायात अन्तर्गत सबै प्रकारका भाडाका सवारीहरु अहिले आन्दोलन गर्न सडकमा उत्रिएका छन् ।यता, स्वास्थ्य मन्त्रालयले तेस्रो लहर आउन सक्ने जोखिम उच्च रहेको भन्दै चेतावनी दिइरहेको छ ।संक्रमण बढ्दै गएमा अबका दिन चुनौतीपूर्ण हुन सक्ने भन्दै प्रदर्शन, सभा सम्मेलन र भिडभाड नगर्न आग्रह मन्त्रालयले गरिरहेको छ ।
प्रतिक्रिया