Pura Samachar

महराले पाए उच्च अदालतबाट पनि सफाइ

प्रकाशित: July 27, 2021

महराले पाए उच्च अदालतबाट पनि सफाइ

साउन १२, २०७८| उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दाबाट सफाइ दिएको छ।

न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर हुने गरी मंगलबार फैसला गरेको उच्च अदालत पाटनका रजिष्टार गजेन्द्र बहादुर सिंहले सेतोपाटीलाई जानकारी दिए।

‘न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासबाट पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा जिल्ला अदालत काठमाडौंकै फैसला सदर हुने गरी फैसला भएको छ,’ सिंहले भने।

काठमाडौं जिल्ला अदालतबाट न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको थियो।

२०७६ साल असोज १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको रोशनीले प्रहरीलाई भनेकी थिइन्।

प्रहरीले २० दिनसम्म गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले महराविरूद्ध आफ्नै कार्यालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको मुद्दा जिल्ला अदालतमा दर्ता गरेको थियो।

सरकारी वकिल कार्यालयले अदालतमा बुझाएको अभियोगपत्रमा सबैभन्दा बलियो प्रमाण घटनाकै रात शाहीको कोठामा पुगेर प्रहरीले लिएको भिडियो रेकर्डलाई देखिन्छ।

प्रहरी स्रोतले सेतोपाटीलाई बताए अनुसार उक्त भिडियोमा आफूमाथि महराले बलात्कार प्रयास गरेको र नमान्दा कुटपिट गरेको शाहीले भनेकी थिइन्। सरकारी वकिल कार्यालयले भने घटनाको रात प्रहरीले लिएको भिडियो आफूले अभियोगपत्र साथ अदालतमा पठाएको बताएको थियो।

ncell in
असोज १२ गते राती महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको भन्दै रोशनीले प्रहरीलाई बताएकी थिइन्।

प्रहरीलाई भनिदिन्छु भनेपछि महरा हतारहतार निस्किएको शाहीले भोलिपल्ट पत्रकार अजय बाबु सिवाकोटीसँगको भिडियो अन्तर्वातामा पनि बताएकी छन्।

त्यसरी हतारहतार निस्किँदा कोठामै छुटेका जुत्ताको खुट्टाको तलुवा, फुटेको चस्माको एउटा सिसा र खुट्टा प्रहरीले बरामद गरेको थियो। उक्त सिसाको पावर र महराले लगाएको चस्माको पावर एउटै भएको जाँचबाट देखिएको छ। यो महरा विरूद्धको दोस्रो ठूलो प्रमाण हो।

‘प्रतिवादीले प्रयोग गरेको चश्माको सिसा र डन्डी आइ केयर अप्टिक्समा जाँच गराएँदा प्राप्त भएको लेन्सको थप पावर ‌प्लस२.७५ भएको डी बिफोकल र पत्र साथ प्राप्त भएको लेन्सको थप पावर प्लस २.७५ भएको डि बिफोकल भन्ने व्यहोरा उल्लेख भएबाट घटनास्थलमा भेटिएको चस्माको सिसा र चस्माको फ्रेमको डण्डी प्रतिवादीको नै हो भन्ने तथ्य स्थापित भएको छ,’ अभियोगपत्रमा भनिएको थियो।

महराले भने पुरानो चस्मा देखाएर आफूलाई फसाउन खोजिएको तर त्यो रात आफू रोशनीको कोठा अघि गएर फोन नउठेपछि फर्किएको बयाद दिएका थिए।

शाहीले स्वास्थ्य जाँच गर्न जाँदा डाक्टरलाई दिएको बयानलाई आधारमान्दै अभियोगपत्रले महरा त्यहाँ गएको पुष्टि गरेको थियो।

‘…र मलाई मलाई धेरैपटक अनुहारमा हिर्कायो। मैले उसको प्याण्ट पछि तान्दै पुलिसलाई भन्दिन्छु भनेँ त्यसपछि भने उ किचनको ढोकाबाट भाग्यो। मलाई यसो गर्दा उ रक्सी खाएर मातेको थियो,’ भन्दै डाक्टरका सामु उनले भनेको कुरा अभियोगपत्रमा उल्लेख थियो।

उनको अनुहार र शरिरको घाउचोट पनि कसैले हिर्काएर भएको कुरा घाउजाँच रिपोर्टमा भएको अभियोगपत्रमा उल्लेख थियो।

डाक्टर सामु उनले गरेको बयान, घटनाकै राती प्रहरीलाई रोशनीले भनेको कुरा र जाहेरीमा उल्लेख भएको कुरालाई विष्शलेषण गरी महराले नै रोशनीलाई बलात्कार गर्न खोज्दा नमानेपछि कुटपिट गरेको निष्कर्श सरकारी वकिलले निकालेको थियो। घाउँजाँचको रिपोर्ट तेस्रो बलियो प्रमाण हो।

महराले आफूलाई बलात्कार गर्न खोजेको नमानेपछि कुटपिट गरेको र त्यसपछि आफूले प्रहरीलाई बोलाएर सबै कुरा भनेको भन्दै रोशनीले त्यही रात साढे ११ बजे आफूलाई बताएको सांसद उमा रेग्मीले प्रहरी सामु कागज गरिदिएकी छन्। उनले गरेको कागज पनि महरा विरूद्धको चौँथो बलियो प्रमाण हो।

त्यस्तै पत्रकार अजय बाबु सिवाकोटीले गरेको कागज महरा विरूद्धको अर्को प्रमाण हो। उनले रोशनीसँग लिएको भिडियो अन्तरवार्ता, उक्त भिडियो लिँदालिँदै महराको नम्बरबाट आएको कल,रोशनीले फर्काएको जवाफलाई पनि प्रमाणको रूपमा मिसिल संलग्न गरेको थियो।

यी सबै तथ्य र प्रमाणका आधारमा सरकारी वकिल कार्यालयले महरा विरूद्ध जबरजस्ती करणीको आरोप लगाएको हो। पिडितलाई रक्सी खुवाएर अनुचित प्रभावमा पारेर जबरजस्ती करणी गरेको सरकारी वकिलको ठहर थियो।

‘सभामुखको पदमा आसिन यी प्रतिवादीले आफ्नो पदको दुरूपयोग गरी असोज १२ गते सरकारले उपलब्ध गराएका बरिष्ठ जिम्मेवार सुरक्षा कर्मीहरूलाई निवासबाट बाहिरीदा सो कुराको यकीन जानकारी नदिइ आफ्नो हैसियतको कुनै हेक्का नराखि, राज्य र आम नागरिकमा पर्ने असरलाई ख्याल नगरी सो संवेदनशीलताप्रति वेवास्ता गरी केही सुरक्षाकर्मीमात्र लिएर साँझ मादक पदार्थ (रक्सी) सेवन गरी साथमा मादकपदार्थ लिइ पिडित एक्लै रहेको निज डेरा/कोठामा गई निजलाई जबरजस्ती मादकपदार्थ सेवन गर्न कर लगाइ गराइ अनुचित प्रभावमा पारी पिडितलाई जबरजस्ती करणी गर्न खोजेको अवस्थामा पिडितले प्रतिकार गर्दा निजलाई कुटपिट समेत गरी घाइते बनाइ जबरजस्ति करणी उद्योगको कसुर गरेकाले,’ अभियोगपत्रमा भनिएको थियो, ‘सम्माननीय सभामुखको गरिमामय पदमा आसिन यी प्रतिवादीले आफ्नो पदको दुरूपयोग गरी मुलुकी अपराध संहिता २०७४को दफा २१९ को उपदफा १ र २ र सोही संहिताको दफा ३४ बमोजिम जबरजस्ती करणी उद्योगको कसुर प्रमाणित हुन आयो।’

प्रतिक्रिया