
बागमती प्रदेश सरकारले एसियाकै पहिलो सुरुङको रुपमा रहेको मकवानपुरको चुरियामाई मन्दिरसँगैको सुरुङमार्गको पुनर्निर्माणको शिलान्यास गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाई मन्दिर प्रागंणमा एक कार्यक्रमका बीच सुरुङ मार्गको पुनःनिर्माणको शिलान्यास गरेका हुन् ।
सुरुङमार्ग पुनःनिर्माणको लागि बागमती प्रदेश सरकारको ४ करोड ५७ लाख २० हजार ७ सय ७ रकमको लागत अनुमान गरिएको छ ।
आगामी २०७९ साल वैशाख १९ गतेसम्म १ सय ९८ मिटर लम्बाइको सुरुङमार्ग पुनःनिर्माण गर्ने तयारी गरेको छ । सुरुङको चौडाइ साढे २ मिटर र उचाई ३ फिट बढ्ने गरी पहिलेकै स्वरुपमा पुनःनिर्माण गरिने भएको हो ।
प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले सुरुङ पुनर्निर्माणको लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र इकाइ दर ठेक्का अनुसार कुल ३ करोड ३६ लाख १३ हजार ८ सय ७८ रुपैयाँमा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड काठमाडौंसँग सम्झौता गरेको छ ।बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ऐतिहासिक सम्पदाहरू संरक्षणमा सरकार सक्रिय रुपमा काम गरिरहेको बताए ।
चुरियामाई सुरुङ पुनर्निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सरकारले ऐतिहासक सम्पदाहरूलाई पर्यटनसँग जोडेर जनताको जीवनस्तर र आर्थिक उपार्जनको योजनासहित काम गरिरहेको बताए ।
उनले प्रदेशको गौरबको आयोजनाहरुको निर्माणमा केही निर्माण कम्पनीहरुको बदमासीका कारण सरकारले समस्या भोग्दै पर्ने वाध्यता रहेको बताए ।
निर्माण व्यवसायीहरुलाई समयमा नै सम्झौता अनुसार काम सम्पन्न गरीदिने हो भने देश छिटै नै समृद्ध बन्ने उनले दावी गरे । समयमा नै निर्माण कार्य सम्पन्न गरी सकारलाई विकास र समृद्धिको बाटोमा सघाएर पुरस्कृत हुन निर्माण कम्पनीहरुलाई मुख्यमन्त्री पौडेलले आग्रह गरे ।
प्रतिक्रिया