Pura Samachar

माघसम्म ४ करोड खोप नेपाल आउने

प्रकाशित: August 2, 2021

माघसम्म ४ करोड खोप नेपाल आउने

साउन १८, २०७८

काठमाडौं । नेपालमा मागसम्ममा थप चार करोड २५ लाख डोज कोरोना भाइरस विरुद्धको खोप ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले माघ महिनासम्मा थप चार करोड २५ लाख डोज खोप ल्याउन लागेको जानकारी दिनुभएको हो ।

नेपाल सरकारले माघसम्म खोप ल्याएर चैतसम्म १८ वर्ष माथिका सबै नागरिकलाई खोप पुर्याउने तयारी गरेको छ ।

अनुदान र खरिद गरी हालसम्म नेपालमा ९७ लाख ८२ हजार डोज खोप ल्याइएको छ ।

असोजसम्म थप एक करोड दुई लाख डोज खोप आउने जसमा जापानले अनुदानमा १६ लाख डोज अस्ट्राजेनेका र चीनले अनुदानमा १६ लाख डोज भेरोसेल दिन लागेका छन्। त्यस्तै, चीनबाट ६० लाख डोज भेरोसेल र भारतबाट १० लाख डोज कोभिशिल्ड खरीद गरिएको छ। यी सबै खोप असोजभित्र आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसैगरी माघसम्म थप तीन करोड २३ लाख डोज खोप आउने भएको छ। अमेरिकाबाट ४० लाख डोज मोडर्नाका लागि भुक्तानी भइसकेको छ। त्यस्तै, लागत सहभागितामा अमेरिकाबाटै एक करोड १० लाख डोज मोडर्ना आउने भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्स सुविधामार्फत अनुदानमा एक करोड १३ लाख डोज मोडर्ना आउने र १२ देखि १८ वर्षसम्मका बालबालिकाका लागि अमेरिकाबाट ६० लाख डोज फाइजर खोप खरीद गरिने भएको छ। यी सम्पूर्ण खोप माघ महिनासम्म नेपाल आइसक्ने र चैत सम्मा १८ वर्षमाथिका सबै नागरिकले खोप लगाउन पाउने बताइएको छ ।

प्रतिक्रिया