
सुर्खेत । सुर्खेतमा लाखौंको अवैध खाद्य पदार्थ बरामद भएको छ । अस्थायी प्रहरी पोष्ट बबईले १४ लाख ७५ हजारको अवैध खाद्य पदार्थ बरामद गरेको हो ।
प्रहरीले नेपालगञ्जदेखि सुर्खेत जाँदै गरेको रा१क ११५६ नम्बरको ट्रकमा अवैध खाद्य तथा सुर्तीजन्य पदार्थ बरामद गरेको जनाएको छ । कर्णाली प्रदेशको प्रवेशद्वार बबईमा शुक्रबार रु १४ लाख ७५ हजार ९ सय ६६ बराबरको अवैध खाद्य पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
भेरीगङ्गा नगरपालिका–५ सुर्खेत बबईमा अवैध खाद्य तथा सुर्तीजन्य पदार्थ बोकेको ट्रकसहित त्रिवेणी गाउँपालिका–३ रोल्पाका २४ वर्षीय ट्रक चालक खुमबहादुर पुनमगरलाई नियन्त्रण लिई आवश्यक कारवाहीका लागि खाद्यबस्तु, ट्रक र चालक पुनमगरलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो ।
प्रतिक्रिया