
सङ्क्रमणको उच्च जोखिममा बालबालिका रहेका छन् । मुख्यतः बालबालिकामा सङ्क्रमण विरुद्ध खोप प्रयोगमा नआउँदा र अन्य उमेर समूहभन्दा बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले बालबालिका जोखिममा रहेको बाल रोग विशेषज्ञहरू बताउँछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म १६ हजार भन्दा धेरै बालबालिकामा सङ्क्रमण भएको छ । अहिले अधिकांश बालबालिकाहरू घरमै छन् । सरकारले निषेधाज्ञा खुकुलो गराए पनि विद्यालयहरूमा भौतिक उपस्थिति सहितको पठनपाठन भएको छैन ।
हाल १८ वर्षमुनिका बालबालिकाहरूलाई कुनै खोप सिफारिस गरिएको छैन । कान्ति बाल अस्पतालका पूर्व निर्देशक प्रा.डा.आर.पी.बिच्छाले सङ्क्रमणको जोखिममा बालबालिका रहेको बताए । डा. विच्छाका अनुसार बालबालिकामा भ्याक्सिन प्रयोगमा नआएको र युवा अवस्थाको तुलनामा बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले उनीहरू जोखिममा छन् ।
बाहिरबाट फर्केपछि बालबालिकासँग सम्पर्कमा रहँदा सतर्कता अपनाउने
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले बालबालिकाहरूका लागि शय्या छुट्टाउन निर्देशन दिइसकेको बताए । बालबालिकाहरूलाई सङ्क्रमणबाट जोगाउन अभिभावक नै जिम्मेवार हुनुपर्ने भन्दै यदि आवतजावत बढी हुने भएमा बालबालिकासँग भेट्दा मास्कको समुचित प्रयोग गर्नुपर्ने हुन्छ । डा. पौडेलले बालबालिकाहरूका लागि एक सय ८० भेन्टिलेटरसहितको दुई सय ७५ वटा आइसियु निर्माण कार्य अघि बढाइएको बताए ।
बाल रोग विशेषज्ञ चिकित्सकहरूको सङ्गठन नेपाल पेडियाट्रिक सोसाइटीले अति आवश्यक काममा बाहेक आफू वा आफ्ना बालबालिकालाई बाहिर वा भिडभाडमा नलैजान अनुरोध गरेको छ । यस्तै केही गरी जान परेमा स्वास्थ्यका मापदण्डहरू अपनाउन आग्रह गरेको छ ।
सार्वजनिक वा अन्य साधनबाट यात्रा गर्दा जनस्वास्थ्यका मापदण्ड पुरा गर्न अभिभावकलाई अनुरोध गरेको छ । यस्तै, बालबच्चामा कुनै समस्याहरू देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीहरूबाट सल्लाह लिन अपिल गरेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा.तारानाथ पोखरेलले बालबालिकाका लागि कोरोना विरुद्ध खोपको विकास अझै नभएकाले उनीहरू जोखिममा रहेको बताए । उनले बालबालिकालाई जोगाउन अभिभावक सचेत र सजग हुनुपर्ने बताए ।
बाल रोग विशेषज्ञहरूका अनुसार संसारमा कतै पनि बच्चाहरूमा खोप नलगाइएकोले बच्चामा संक्रमणदर बढी हुन्छ । अभिभावकले भ्याक्सिन लगाएको भए पनि अब लाग्दैन भन्ने भ्रम पाल्न नहुने भन्दै जनस्वास्थ्य विज्ञहरूले अभिभावक आफूले खोप लगाए पनि बच्चालाई बचाउन विभिन्न सावधानी अपनाउनु जरुरी रहेको बताउँछन् ।
प्रतिक्रिया