
काठमाडौँ — २७औं विश्व आदिवासी दिवस सोमबार (अगस्त ९) मनाइँदैछ । तर काठमाडौंका सडकमा अढाई दशकअघि जस्तो परम्परागत पहिरन र गरगहना पहिरिएका आदिवासी जनजातिका जुलुस देखिएको छैन । बाजागाजा, ब्यानर र नारा कोरिएका प्लेकार्ड बोकेकाहरू भेटिएका छैनन् । पहिलो कारण, विश्वव्यापी कोरोना भाइरसको महामारी छ ।
दोस्रो, नयाँ संविधान जारी भएसँगै जनजातिका माग, मुद्दा ‘पूरा भएको’ जस्तो स्थिति छ । आदिवासी दिवसलाई लिएर किन घट्यो त उत्साह ? जनजाति अगुवाहरु नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वले व्यक्तिगत लाभका निम्ति राजनीतिक दलप्रति समर्पित भएकै परिणामस्वरुप आदिवासी दिवसप्रति चासो र उत्साह घटेको ठान्छन् । जनजाति अगुवा तथा महासंघका पूर्वमहासचिव प्राध्यापक डा. ओम गुरुङले आदिवासी दिवस मनाउन थालेपछि नेपालमा जनजातिका मुद्दा भने दरिलो बनेको बताए ।
‘आदिवासी आन्दोलनको मुख्य सार भनेको धर्मनिरपेक्षता, पहिचान, समानुपातिक समावेशीकरण, आरक्षण प्रमुख हुन्, ती उपलब्धिको उपभोग गर्न नपाउँदै फेरि रक्षा गर्न उत्रिनुपर्ने परिस्थति सिर्जना भएको छ । त्यसमाथि महासंघको नेतृत्वमा राजनीति हाबी भयो । त्यसका कारण पनि आदिवासी दिवसलाई लिएर उत्साह नदेखिएका हो,’ गुरुङले भने ।
संयुक्त राष्ट्रसंघको सन् १९९४ डिसेम्बर २३ मा बसेको महासभाले पहिलो पटक ‘९ अगस्ट’लाई ‘विश्व आदिवासी दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो । सन् १९८२ मा आदिवासी बारेमा उठेका सवाल सम्बोधनका निम्ति कार्यदल गठन गरेको थियो । सोही कार्यदलको पहिलो बैठक अगस्त ९ मा बसेको थियो । कार्यदलको सुझावअनुसार सोही दिनको सम्झना गर्दै यो दिवस मनाउन थालिएको हो, जुन २७ औं वर्ष पुगेको छ । नेपालका आदिवासी जनजातिले समेत १९९५ देखि यो दिवस मनाउँदै आएका छन् । राष्ट्रसंघले सन् २०२१ का निम्ति ‘नयाँ सामाजिक सम्झौताको खोजी, कोही पनि नछुटुन् आदिवासी जनजाति’ नारा तय गरेको छ ।
०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको संविधानले नेपालमा उत्पीडित जातजाति, भाषाभाषीहरू आफ्नो सामूहिक हक अधिकारका निम्ति संगठित हुने, मातृभाषामा पत्रपत्रिका प्रकाशन गर्ने, परम्परागत संस्कार संस्कृतिहरूको उजागर गर्ने अधिकार दिएपछि जातीय संस्थाहरु खुल्ने क्रम सुरु भयो । तिनै जातीय संस्थाहरू एकीकृत पहलमा २०४७ सालमा नेपाल आदिवासी जनजाति महासंघ गठन भयो । पछि सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ जारी गर्यो । सोही ऐनअनुसार ५९ थरी आदिवासी जनजातिलाई सूचीकृत भएका छन् । महासंघअन्तर्गत महिला, युवा, विद्यार्थी, पत्रकार, वकिल, चलचित्र, मजदुर र फरक क्षमता भएका शारीरिक रूपले अशक्त गरी ८ वटा महासंघीय सम्बन्धन संस्थाहरू सम्बद्ध छन् । त्यसैगरी महासंघअन्तर्गत २३ भन्दा बढी विदेश शाखाहरू क्रियाशील छन् । हाल महासंघमा ५६ आदिवासी जनजातीय सदस्य संगठनहरू आबद्ध छन् ।
प्रतिक्रिया