
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्षमा पुगेका छन् । केही दिनयता आफ्ना पार्टीका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरिरहेका नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो बैठकका निर्णयले पार्टी एकताको सम्भावना अन्त्य भएको निचोड सुनाएका छन् ।
बुधबार उनले केही पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य र सांसदहरुसँग छलफल गरे । आज पनि नेता नेपाल छलफलमा नै व्यस्त छन् ।
केन्द्रीय सदस्य जीवनराम श्रेष्ठका अनुसार छलफलमा उनले ओलीको पछिल्लो निर्णयले पार्टी एकताको सम्भावना क्षीण भएको बताएका हुन् । नेता नेपालले आफू पार्टीमा नआए हुन्थ्यो भन्ने ओलीको व्यवहार देखिएको गुनासो समेत गरेका छन् ।
“हामीले पार्टी एकताका लागि केन्द्रीय कमिटी सदस्यहरूको बैठकबाट १० बुँदे सहमतिलाई आधार मानेर सम्मानजनक एकता गर्ने निर्णय गरेका थियौँ । त्यसलाई ओलीले रेस्पोन्स नै गरेनन् । बरु, पार्टीमा नआए हुन्थ्यो भन्ने देखाए,” नेपालको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, “उल्टै पार्टीलाई निरंकुश बनाउने हिसाबले विधान संशोधनको प्रस्ताव ल्याएका छन् । त्यसले ओली पार्टी एकताको पक्षमा छैनन् भन्ने देखियो । अब एकताको सम्भावना क्षीण भयो ।”
एमालेको यही साउन २५ गते बसेको केन्द्रीय कमिटी बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव पेस गरिएको थियो । प्रस्तावमा महाधिवेशनबाट अध्यक्ष मात्रै निर्वाचित हुने र अरू पदाधिकारी मनोनीत हुने उल्लेख छ । उक्त विषयमा नेता नेपालले गम्भीर आपत्ति जनाएका छन् ।
ओलीले एकता नचाहेको र उनका निर्णयहरुले एकताको विषय अन्त्य गरेको नेता नेपालको भनाइ छ । उनी एकताका लागि भनेर समय खर्चिनेभन्दा पनि विद्रोह गर्ने मुडमा पुगेको श्रेष्ठले बताए ।
“ओलीले एकजना अध्यक्ष राखेर निर्वाचित गर्ने र अरू मनोनीत गर्ने कुरा गरे । निरंकुश तानाशाही बनाउने, जनताको बहुदलीय जनवादको मूल मर्ममा प्रहार गर्ने काम गर्यो । यसले एकताको अवस्थाको अन्त्य गरेको छ । अब अन्तरसंघर्षको औचित्य देखिएन । नयाँ ढंगले जानुपर्छ,” नेपालको भनाइ उद्धृत गर्दै उनले भने, “एकताका लागि पर्खिएर समय खेर फाल्न हुँदैन । के गर्ने विषयमा छलफल गरौँ । अब विद्रोह गर्नुको विकल्प बाँकी रहेन ।”
श्रेष्ठ अब नयाँ पार्टी बनाएर जाने विषयमा नै छलफल सुरु भएको बताउँछन् ।
“अब नयाँ पार्टी नै बनाउने । ओलीले कम्युनिस्ट आन्दोलनको विर्सजन गर्न खोजे । महाधिवेशनले पारित गरेको विचार, सिद्धान्तमाथि प्रहार गरेका छन् । कम्युनिस्ट आन्दोलनको झन्डालाई विसर्जन गर्न नदिने र नयाँ पार्टी बनाएर जानुपर्छ भन्ने छलफल सुरु भएको छ,” उनले भने ।
माधव नेपाल समूहले समानान्तर गतिविधिलाई भने निरन्तरता दिने भएको छ । छलफलमा सहभागी सांसद विरोध खतिवडा पनि नेता नेपालले आफ्नो हिसाबले हिँड्ने बताएको सुनाउँछन् ।
“केपी ओलीसँगको लडाइँ जारी छ । हामी आफ्नो हिसाबले हिँड्छौँ । उहाँको भनाइको निष्कर्ष यही हो,” खतिवडाले भने ।
नेता नेपालले अब स्थायी कमिटीमा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेका छन् । पहिले छुट्टाछुट्टै छलफल गरेर बैठक डाक्ने नेताहरुले बताएका छन् ।
विघटित कार्यदलका सदस्यहरूले पार्टी एकता हुने दाबी गर्र्दै आएका छन् । माधव समूहको साउन २१ र २२ गते बसेको केन्द्रीय सदस्यहरूको बैठकमा विघटित कार्यदलका नेताहरूले सम्मानजनक एकता गराउने दाबी गरेका थिए । तर, ओली पक्षले नेता नेपाललाई समान हैसियतको अध्यक्ष बनाउन अस्वीकार गरिसकेको छ ।
नेपाल पक्षका नेताहरु कार्यदलमाथि नै भरोसा नभएको बताउँछन् । “कार्यदलमा रहनुभएका नेताहरु हामी एकता गराउँछाँै भन्नुहुन्छ । तर, उहाँहरूबाहेक हामी कसैलाई विश्वास छैन,” एक नेताले भने ।
प्रतिक्रिया