
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्काल मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने सम्भावना नरहेको बताउनुभएको छ ।
शुक्रबार पार्टी कार्यायल पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा दाहालले अझै केही दिन मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने सम्भावना नरहेको बताउनुभएको हो ।
शनिबारदेखि सुरु हुने पार्टी केन्द्रीय समिति बैठकको तयारीस्वरूप बसेको स्थायी कमिटी बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफमा अध्यक्ष दाहालले विभिन्न पार्टीभित्र आन्तरिक समस्या रहेकोले मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्न नसकेको बताउनुभएको हो ।
नयाँ सरकार गठन भएको एक महिना बितिसक्दासमेत मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्न सकेको छैन । अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवासँगै अन्य चार मन्त्री र एकजना राज्यमन्त्री मात्रै नियुक्त भएका छन् । गठबन्धन सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना सुरु भएको छ ।
साथै माओवादी केन्द्रको शनिबार बस्ने स्थायी कमिटी बैठकमा विधान संशोधनको प्रस्तावलाई पेस गरिने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिनुभयो ।
प्रतिक्रिया