Pura Samachar

पार्टीको नाम फेरेर दिए नयाँ दल दर्ताको निवेदन

प्रकाशित: August 20, 2021

पार्टीको नाम फेरेर दिए नयाँ दल दर्ताको निवेदन

जनता समाजवादी पार्टीबाट विभाजन भएर गएको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले पनि पार्टीको नयाँ नाम राखेर निर्वाचन आयोगमा निवेदन दिएको छ।

नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल राखेर ठाकुर पक्षले शुक्रबार आयोगमा दर्ताका लागि निवेदन दिएको हो।

नेता सुरेन्द्र झाका अनुसार पार्टी अध्यक्षमा महन्थ ठाकुर छन् भने बरिष्ठ नेतामा राजेन्द्र महतो र शरदसिंह भण्डारी छन्। लोसपाको केन्द्रीय कार्यकारिणी समिति ३१ सदस्यीय छ।

यसअघि ठाकुरले नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) राखेको थियो।  आयोगले उस्ताउस्तै नाम भएका पार्टी दर्ता गर्न नमिल्ने बताएका उनीहरूले पार्टीको नाम फेरेर निवेदन दिएका हुन्।

यसअघि एमालेबाट विभाजन भएको माधवकुमार नेपाल समूहले पनि पार्टीको नाम फेरेर आजै आयोगमा दर्ताका लागि निवेदन दिएको थियो। आयोगले उस्ताउस्तै नाम राख्न नमिल्ने बताएपछि नेपाल समूहका नेताहरूले यसअघि राखिएको नेकपा एमाले (समाजवादी) नाम बदलेका हुन्। नयाँ पार्टीको नाम नेकपा एकीकृत समाजवादी राखेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए।

‘हामीले नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवदेन दिएर आएका छौं,’ खतिवडाले सेतोपाटीसँग भने।

उनीहरूले केही दिनअघि जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेश र सोही अध्यादेश बमोजिम बनेको नियमावली अनुसार दल विभाजन गरी नयाँ दल दर्ताको निवेदन दिएका हुन्।

अब उनीहरूको दलमा रहेका सदस्यहरूको सनाखतका लागि निर्वाचन आयोगले बोलाउने छ।

प्रतिक्रिया