Pura Samachar

ठूलो संकटमा एमाले

प्रकाशित: August 21, 2021

ठूलो संकटमा एमाले

५ भदौ, काठमाडौं । नेकपा एमालेबाट अलग भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन आयोगमा पार्टी नाम परिवर्तन सहित निवेदन दिएका छन् ।

बुधबार नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन दिएको भएपनि आयोगले अर्को नाम ल्याउन भनेपछि नेकपा (एकीकृत समाजवादी) प्रस्ताव गरिएको छ । ‘एमाले राख्न नदिइएपछि हामीले नयाँ नाम प्रस्ताव गरेका छौं । चुनाव चिन्हबारे छलफल चलिरहेको छ’, केन्द्रीय सदस्य जगनाथ खतिवडा भन्छन् ।एमालेबाट ५८ केन्द्रीय सदस्य अलग हुँदै माधव नेपालको नेतृत्वमा ११५ सदस्यीय केन्द्रीय कमिटी रहेको दल आयोगमा दर्ता भएको छ । दर्ता प्रक्रियामा रहेको नयाँ दलको संगठन, सिद्धान्त र राष्ट्रिय राजनीतिक भूमिका तय गर्ने दौडधुपमा नेता नेपाल लागिपरेका छन् । नयाँ बानेश्वरस्थित एक पब्लिकेशनमा नयाँ पार्टीको संरचना बनाउन नेपाल निकट नेताहरू सक्रिय छन् । ‘पार्टी दर्ता गराउने प्रयोजनका निम्ति प्रारम्भिक केन्द्रीय कमिटी बनेपनि पूर्णता दिन सकिएको छैन । केही दिन संगठन, कार्यक्रम जस्ता काम हुन्छ’, खतिवडा भन्छन् ।

प्रतिनिधिसभाको सवैभन्दा ठूलो दल एमालेको विभाजन राजनीतिक र व्यवहारिक रूपमा भने आठ महिना अघि, ५ पुसमै भएको थियो । तर त्यतिबेला साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को रूपमा विभाजन थियो । त्यो विभाजन २३ फागुनमा सर्वोच्च अदालतको नेकपा विघटन गर्ने फैसलासँगै एमाले विभाजनमा परिणत भयो ।

तर दोस्रो तहका नेताहरुको एकता प्रयासका कारण रोकिएको विभाजन २ भदौदेखि वैधानिकताको प्रक्रियामा गएको छ । अर्थात्, अन्तरसंघर्ष व्यवस्थापन हुन नसक्दा २४ वर्षपछि एमाले फेरि विभाजित भएको छ । २०५४ पछिको यो दोस्रो ठूलो विभाजन हो । हुन त २०६९ मा तत्कालीन उपाध्यक्ष अशोक राईको नेतृत्वमा पनि एमाले विभाजित भयो । २०७० को निर्वाचनमा यो विभाजनले असर गरेपनि २०५४ को विभाजन जतिको असर परेन । ‘यसपटकको विभाजन चाहिँ एमाले पार्टी जीवनकै ठूलो छ । किनभने यसपटक एमाले दुई टुक्रा मात्रै भएको छैन’, पुराना नेता प्रदीप नेपाल भन्छन् ।

हुन पनि वैधानिक हिसाबले एमाले दुई वटा भएपनि राजनीतिक रूपमा चार भन्दा बढी टुक्रा बनेको छ । अहिले चार वटै समूह पूरा सामथ्र्यका साथ एकअर्काेलाई परास्त गर्ने गरी सक्रिय छन् । ‘एमाले अहिले जतिको संकटमा कहिल्यै परेको थिएन । तर नेतृत्वको अकर्मण्यताका कारण नसोचेको परिस्थिति आइलाग्यो’, प्रदीप नेपाल भन्छन् ।

 

प्रतिक्रिया