Pura Samachar

प्रधानमन्त्री शेरबहादुर देउवाले बागडोलस्थित नवनिर्मित ‘ज्यापु समाज ज्येष्ठ नागरिक आनन्द निकेतन भवन’ को उद्घाटन

प्रकाशित: August 22, 2021

प्रधानमन्त्री शेरबहादुर देउवाले बागडोलस्थित नवनिर्मित ‘ज्यापु समाज ज्येष्ठ नागरिक आनन्द निकेतन भवन’ को उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बागडोलस्थित नवनिर्मित ‘ज्यापु समाज ज्येष्ठ नागरिक आनन्द निकेतन भवन’ को उद्घाटन गर्नुभएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितमा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सो भवनको उद्घाटन गर्नुभएको हो ।

भारत र नेपाल सरकारबीच भएको सम्झौताअनुरूप उक्त भवनको निर्माण भएको हो । भारत सरकारको पाँच करोड आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत उक्त भवन निर्माण भएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

ज्येष्ठ नागरिकका लागि यो भवन एक नमुना वृद्घाश्रमको रूपमा रहेको र उनीहरूको उचित हेरचाहका लागि आधुनिक, अपांगमैत्री संरचनाहरूको सुविधा ज्यापु समाजले जनाएको छ । यो भवनमा ११० वटा बेडका साथै स्वास्थ्य परीक्षण कक्ष, भान्छा कोठा, अत्यावश्यक फर्निचर र अन्य उपकरण छन् ।

दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘हामीबीचको विकास सहकार्यमा यस्ता परियोजनाहरूको कार्यान्वयनको ठूलो महत्व रहेको छ । यस्ता परियोजनाहरूको कार्यान्वयनले समुदायस्तरमा विकास गर्न मद्दत गर्दछ । यस अवसरमा राजदूतले ज्यापु समाजलाई धन्यवाद दिनुका साथै नेपाली समाजमा ज्यापु समाजले पु¥याएको योगदानको कदर गर्नुभयो ।’

दुई देशबीचको विकास सहकार्यको हिस्साको रूपमा भारतले नेपालभर हालसम्म ४५० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गतका योजनाहरू सम्पन्न गरेको छ ।

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सचिवालय विस्तार गर्नुभएको छ । उहाँले प्रधानमन्त्री भएको करिब डेढ महिनापछि प्रमुख स्वकीय सचिवमा भानु देउवालाई नियुक्त गर्नुभएको हो । भानुले यसअघि पनि सो जिम्मेवारी पूरा गर्दै आउनुभएको थियो । भानु नातामा प्रधानमन्त्री देउवाको भतिज पर्नुहुन्छ ।

प्रधानमन्त्री देउवाको यसअघिको प्रधानमन्त्री कालमा पनि भानु देउवा नै प्रमुख स्वकीय सचिव रहनुभएको थियो ।

त्यस्तै, प्रधानमन्त्री देउवाले वीरेन्द्र थापालाई स्वकीय सचिवमा नियुक्त गर्नुभएको छ । यसअघि परराष्ट्र सल्लाहकारमा डा. दिनेश भट्टराई, प्रेस संयोजकमा गोविन्द परियार र स्वकीय सचिवमा केशव जोशीलाई नियुक्त गरिसक्नु भएको छ ।

देउवाले अबको १/२ दिनमा नै मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गर्नुभएको भनिएको छ । हाल पाँच जनाको मात्रै मन्त्रिपरिषद् छ । माधव नेपाल नेतृत्वको दलको दर्ता प्रक्रिया पूरा नभइसकेकाले मन्त्रिपरिषद् बिस्तार रोेकिएको भनिएको छ ।

देउवाले असार २९ मा पाँच सदस्यीय मन्त्रिमण्डल बनाउनुभएको थियो । त्यसपछि साउन १० मा उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउनुभए यता क्याबिनेट विस्तार हुन सकेको छैन । लामो समय मन्त्रिमण्डल विस्तार नगर्दा प्रधानमन्त्रीको आलोचनासमेत भइरहेको छ ।

प्रतिक्रिया