
पछिल्लो १५ दिनयता कोरोना भाइरसको दैनिक संक्रमण दर निरन्तर घट्न थालेको छ।
हिजो (सोमबार) कुल ११ हजार ३२६ जनाको परीक्षण गरिएकोमा जम्मा १५.९० प्रतिशतमा संक्रमण पोजेटिभ देखिएको थियो। जुन पछिल्लो महिनायताकै कम संक्रमण दर हो।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो १५ दिनमा कुल परीक्षण गरिएकामध्ये १९ प्रतिशतमा संक्रमण देखिएको छ। जुन अघिल्लो १५ दिनको तुलनामा तीन प्रतिशतले कमी हो।
साथै भदौ ३ गतेदेखि भने दैनिक संक्रमण दर नै निरन्तर घट्न थालेको छ। भदौ ३ गते १९ प्रतिशतमा संक्रमण देखिएकोमा भदौ ४ गते १७ प्रतिशत र त्यसयता भने दैनिक औसत १५ प्रतिशतमा संक्रमण देखिएको छ।
पछिल्लो १५ दिनयता संक्रमण दर निरन्तर घट्नु राम्रो संकेत रहेको भन्दै तत्काल संक्रमणको अवस्था भयावह नहुने देखिएको संक्रमण रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।
‘पछिल्ला दिनमा संक्रमण दर ओरालो लाग्नु शुभ संकेत हो। अब तत्काल दोस्रो लहरजस्तै भयावह स्थिति हुने सम्भावना कम देख्छु,’ उनले भने।
डा. पुनका कुरालाई आधार मान्ने हो भने जसरी पछिल्ला दिनहरूमा संक्रमण दर घट्न थालेको छ, त्यसले संक्रमण विस्तारै शिथिल हुँदै गएको भनेर बुझ्नुपर्छ। जबकि असारको अन्तिमतिर संक्रमण पुनः ह्वात्तै बढ्न थाल्दा कतिपय स्वास्थ्य अधिकारीहरूले दोस्रो लहरकै जस्तो भयावह स्थिति आउनसक्ने चेतावनी दिएका थिए। हुन पनि त्यसअघि दैनिक २ हजार बढीमा संक्रमण नदेखिएको स्थितिमा एकैदिन झन्डै पाँच हजार जनालाई समेत संक्रमण पुष्टि भएको थियो।
त्यसरी संक्रमण दर लगालग बढ्न थालेपछि सरकारले समेत तेस्रो लहरको जोखिम रहेको भन्दै पटक-पटक सूचना जारी गरेको थियो।
प्रतिक्रिया