
काठमाडौं । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरेको छ ।
बुधवार दुवै पार्टीका केन्द्रीय सदस्यहरुको सनाखत गरेपछि आयोगले दुवै दललाई नयाँ दलको मान्यता दिएको हो । आयोगका सचिवले दुवै दलका प्रतिनिधिहरुलाई बुधवार साँझ दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।
माधवकुमार नेपाल अध्यक्षता रहेको एकीकृत समाजवादीले १६६ नम्बरको दल दर्ता नम्बर प्राप्त गरेको छ । योसँगै नेकपा एमाले औपचारिक रुपमा विभाजन भएको छ ।
नेता राजेन्द्र पाण्डेले आयोगका सचिवबाट दल दर्ताको प्रमाणपत्र बुझ्नुभएको थियो । योसँगै अब पार्टी संगठन निर्माणमा जुट्ने नेता पाण्डेले बताउनुभयो ।
सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशको सुविधा प्रयोग गरेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल गठन गर्नुभएको हो ।
सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएपछि दल विभाजन गर्न सकिने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार एमालेको माधवकुमार नेपाल पक्षले २० प्रतिशत केन्द्रीय सदस्य संख्या पुर्याएर एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठन गरेको हो ।
प्रतिक्रिया