Pura Samachar

मुख्यमन्त्री भीम आचार्यद्वारा पदभार ग्रहण

प्रकाशित: August 26, 2021

मुख्यमन्त्री भीम आचार्यद्वारा पदभार ग्रहण

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन्।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।

बिहीबार बिहानै बसेको प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका आचार्यलाई  प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको रूपमा शपथ गराएका हुन्।

आचार्यलाई निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा संसदीय दलको नेता बनाइएको हो। आचार्य दलको नेता चयन भएपछि राईले प्रदेश प्रमुख सोमनाथ प्यासीकहाँ मुख्यमन्त्रीबाट आजै राजीनामा बुझाएका छन्।

आचार्यले प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा १६८(१) बमोजिम मुख्यमन्त्रीको रूपमा शपथ लिएका हुन्।

 

बिहान ९ बजे नै संसदीय दलको बैठक बस्ने भनिए पनि शेरधन राई र भीम आचार्य काठमाडौंबाट आउन ढिलाइ भएपछि विराटनगर विमानस्थल नजिकैको एसियाटिक होटलमा एमाले संसदीय दलको बैठक बसेको थियो।

‘पार्टी एकतालाई बचाउन मैले राजीनामा दिएको हुँ। हामीले आचार्यजीलाई भावी मुख्यमन्त्रीका रूपमा अगाडि सारेका छौं,’ बैठकपछि पत्रकारसँग कुरा गर्दै राईले भने, ‘विभाजन र पार्टी एकताको सर्वोत्तम कुरालाई ध्यानमा राखेर परिस्कृत परिस्थितिलाई सामना गर्ने, नेकपा एमालेको प्रभाव र वर्चश्वलाई जस्ताको तस्तै कायम राख्ने सरकारलाई सुरक्षित तरिकाले अगाडि बढाउने तमाम कुरालाई ध्यानमा राखेर मैले राजीनामा गरेको हुँ।’

प्रतिक्रिया