
तराई-मधेस लोकतान्त्रिक पार्टीका पूर्वनेता नेता, हाल स्वतन्त्र सांसद पूर्वमन्त्री हृदयेश त्रिपाठी नयाँ राजनीतिक दल निर्माणमा जुटेका छन्।
नयाँ राजनीतिक दल निर्माणका क्रममा उनी अहिले तराईका जिल्लाको भ्रमण गरिरहेका छन्।
‘नयाँ राजनीतिक दल निर्माणको अन्तिम तयारीमा छु, राष्ट्रव्यापी समेट्ने गरी राजनीतिक दलको निर्माण हुनेछ,’ त्रिपाठीले भने।
गठन हुने पार्टीले हालको संविधानको प्रस्तावनालाई मूल आधार मान्ने र त्यसले किसान केन्द्रित वर्गीय राजनीति गर्ने उनले बताए।
अहिले क्रियाशील दलहरू राजनीतिक र सैद्धान्तिक रूपमा विचलननको बाटोमा रहेकाले नयाँ राजनीतिक दल खोल्ने आधार बनेको उनले बताए।
उनको साथमा सांसद वृजेशकुमार गुप्तालगायत छन्। त्रिपाठी र गुप्ता दुबै २०७४ सालको चुनावमा उनी स्वतन्त्र उठेका थिए। तर, एमालेसँग चुनावी तालमेल गर्दा उनीहरूले चुनाव चिन्ह सूर्य पाएका थिए।
त्रिपाठीले नवलपरासी १ र गुप्ताले नवलपरासी २ बाट चुनाव जितेका थिए।
‘मसँग स्वतन्त्र राजनीतिमा विश्वास गर्ने अरू साथीहरू पनि हुनुहुन्छ,’ उनले भने, ‘स्वतन्त्र राजनीतिक समूहमा रहेका साथीहरूलाई समेट्ने छु।’
नयाँ पार्टी निर्माणका लागि उनले दस्तावेज तयार पारिसकेका छन्। अहिले संगठनात्मक संरचना निर्माणका लागि आफू नेपालगञ्जमा रहेको बताए।
‘म नेपालगञ्जसम्म आइपुगेको छु, पूर्व पनि जानु छ,’ उनले भने।
प्रतिक्रिया