
काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बुधबार पनि सुनुवाइ हुन नसकेको हो।
प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा पेशी चढेको मुद्दा हेर्न नमिल्नेमा परेको हो ।
यसअघि ३० फागुन २०७६ मा पनि यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।
सापकोटाविरुद्ध पुर्णिमाया लामा, सुशिल प्याकुरेललगायतले २०६८ असार ६ गते मुद्दा दर्ता गर्नुभएको थियो । हालसम्म यो मुद्दा २० पटकसम्म सुनुवाइको पेशी तोकिएको छ । २०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।
संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री हुनु भएका बेला दायर भएकोसहित तीन थान मुद्दा रहेका छन् । काभ्रेका अर्जुन लामाको हत्या आरोपमा तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उहाँकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गर्नु भएको थियो । उक्त रिटमा अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन रहेको छ ।
प्रतिक्रिया