
काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले पदबाट राजीनामा दिनुभएको छ ।विश्वकर्माले बुधबार विज्ञप्ति जारी गर्दै आसन्न महाधिवेशनमा हुने प्रतिनिधि छनौटदेखि नै दलितको प्रतिनिधित्व नहुनेगरी निर्वाचन निर्देशिका बनाइएको भन्दै राजीनामा दिनुभएको हो ।
आफूले केन्द्रीय सदस्य र नेपाल दलित संघको केन्द्रीय अध्यक्ष दुवै पदबाट राजीनामा दिएको विश्वकर्माले जानकारी दिनुभएको छ । षडयन्त्रमूलक ढंगबाट दलित समुदायलाई अपमान र अन्याय हुने गरी लागू गरिने निर्वाचन निर्देशिका दलित संघका लागि मान्य नहुने विश्वकर्माले बताउनुभएको छ ।
यस्ता असमावेशी र शेरबहादुर देउवाको नेतृत्वमा अघि सारिएको समावेशी सिद्धान्त कदमको समेत खिल्ली उडाउने नीति लागू हुँदा टुलुटुलु हेरेर बस्न नैतिकरूपमा नमिल्ने भएकाले दुवै पदबाट राजीनामा दिएको विश्वकर्मले बताउनुभयो ।
उहाँले प्रभानमन्त्री तथा सभापति शेरबहादुर देउवाले ११ औं महाधिवेशनमा लिएको पार्टीका निति विपरित १४ औं महाधिवेशनमा दलितको सुनिश्चितालाई वेवास्ता गर्दै पाटीले निर्वाचन निर्देशिका जारी गरेको भन्दै असहमति प्रकट गर्नुभएको छ ।
कांग्रेसमा दलित समुदायको सहभागिता केही समयपछि शुन्य हुने देखिएको भन्दै उहाँले निर्वाचन निर्देशिकाको चर्को विरोध जनाउनुभएको हो ।
प्रतिक्रिया