
काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलासबाट सुनुवाइ नगर्न अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले विहीवार संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश दिएको हो ।
प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरा संवैधानिक परिषद्ले गरेका निर्णयविरुद्धको रिटमाथिको शुक्रवार हुन लागेको सुनुवाइमा बिदा बस्न लाग्नु भएको थियो । आज सर्वोच्चले शुक्रबारको सुनुवाइ रोक्न अन्तरिम आदेश दिएको हो । अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले अन्तरिम आदेशसहित कारण देखाऊ आदेश समेत दिएको छ ।
योसँगै संवैधानिक आयोगहरूमा गरिएका नियुक्ति सम्बन्धी रिट निवेदनहरूको सुनुवाई अनिश्चित समयका लागि स्थगित हुने भएको छ । संवैधानिक परिषद्को बैठकमा सहभागी भएर प्रधानन्यायाधीश जबराले गरेका निर्णयमा उहाँकै नेतृत्वमा गठन हुने संवैधानिक इजलासमा सुनुवाइ गर्न नमिल्ने भन्दै प्रश्न उठेको थियो ।
सर्वाेच्चले संवैधानिक नियुक्तिसँग सम्बन्धित मुद्दा प्रधानन्यायाधीश संलग्न इजलासले गर्न हुने कि नहुने विषय टुंगो नलागेसम्म उक्त रिटको सुनुवाई रोक्न अन्तरिम आदेश दिएको हो ।
प्रतिक्रिया