
विराटनगर – सङ्खुवासभामा कार्की परिवारको विभत्स हत्या प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पनि खटिने भएको छ ।
विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीका अनुसार सोमबार एकैपरिवारको ६ जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको सिआइबी टोली घटनास्थलतर्फ जानेछ । सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा भएको सो घटनामा हाल सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट खटिएको विशेष टोलीले स्थलगत अनुसन्धान सुरु गरेको छ।
घटनास्थल अति नै विकट स्थानमा रहेका कारण अनुसन्धानमा खटाइएको प्रहरीको विशेष टोलीलाई घटनास्थलसम्म पुग्न समय लागेको प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिए। यसक्रममा प्रहरीले अनुसन्धानका लागि ‘ट्रयाकर’ डग पिकु र लैलालाई प्रयोग गरिरहेको प्रहरी उपरीक्षक दाहालले बताए।
तर वर्षाले गर्दा केही कठिनाई भएको प्रहरीको भनाई छ। वर्षाका कारण तालिमप्राप्त कुकुरबाट गरिने अनुसन्धानलाई प्र्रभावकारी हुन नसकेको बताइएको छ। प्रहरी उपरीक्षक दाहाल नेतृत्वको प्रहरीको विशेष टोली घटना नजिक पुगिसकेको जनाएको छ।
प्रतिक्रिया