Pura Samachar

पार्टीमा छलफल गरेपछि एमसीसीको विषयलाई टुंगो लगाउने ओलीको आश्वासन

प्रकाशित: September 9, 2021
पूरा समाचार

पार्टीमा छलफल गरेपछि एमसीसीको विषयलाई टुंगो लगाउने ओलीको आश्वासन

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पार्टीभित्र गहन छलफलपछि औपचारिक धारणा तय गर्ने बताउनुभएको छ ।

आफ्नै निवास बालकोटमा विहीवार दिउँसो एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमार नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष ओलीले पार्टीमा छलफल गरेपछि एमसीसीको विषयलाई टुंगो लगाउने बताउनुभएको बालकोट स्रोतको भनाइ छ ।

भेटका क्रममा उपाध्यक्ष सुमारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अमेरिकी सैन्य गठबन्धनबीच सम्बन्ध नरहेको जानकारी गराउनुभएको थियो । उहाँले कुनै पनि सैन्य प्रयोजनका निम्ति अनुदान कोषको प्रयोग गर्नबाट निषेध गरेको बताउनुभयो ।
उपाध्यक्ष सुमारसहितको प्रतिनिधिमण्डल टोली ओलीलाई भेट्न बिहीबार दिउँसो दुई बजे बालकोटस्थित ओली निवासमा पुगेको थियो। झण्डै एक घण्टाको भेटवार्तामा अध्यक्ष ओली, स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापा सहभागी हुनुहुन्थ्यो ।

संसद्मबाट एमसीसी पास गर्ने वा नगर्ने बहस चलिरहेको बेला उपाध्यक्ष सुमारसहितको टोली नेपाल आएर प्रमुख प्रतिपक्ष दलसँग भेट गरेको हो। चारदिने भ्रमणमा नेपाल आएकी सुमारले शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ।

विहीवार विहान काठमाडौं आइपुग्नुभएका उहाँले काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ,नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भटटराई, अर्थमन्त्री जनार्दन शर्मालगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यसूची छ। प्रधानमन्त्री देउवालाई सुमारले शुक्रबार अपरान्ह भेट गर्ने कार्यतालिका तय भएको सचिवालय स्रोतले जनाएको छ।

प्रतिक्रिया