Pura Samachar

एमसीसीका कारण सत्ता गठबन्धनमा खटपटको संकेत

प्रकाशित: September 10, 2021

एमसीसीका कारण सत्ता गठबन्धनमा खटपटको संकेत

काठमाडौं । नेपालको चारदिने भ्रमणमा रहनुभएका अमेरिकी अनुदान सहायता सम्झौता एमसीसीका उपाध्यक्ष फातिमा सुमारले एमसीसी अनुमोदन गराउन कसैलाई दबाब नदिने बताउनुभएको छ ।

काठमाडौं आइपुगे लगत्तै विभिन्न दलका नेताहरुसँग भेटवार्तामा सक्रिय रहनुभएका फातिमाले एमसीसी दबाब दिएर पारित गराउने पक्षमा आफूहरु नरहेको बताउनुभएको हो । विहीवार अपरान्ह नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा उहाँले एमसीसी पारित गर्न आफूहरुका तर्फबाट कुनै दबाब नरहेको बताउनुभएको हो । उपाध्यक्ष फातिमाले एमसीसीका बारेमा दलहरुको धारणा बुझ्न आफूले भेटवार्ता शुरु गरेको प्रष्ट पार्नुभएको छ । भेटवार्तामा फातिमाले एमसीसी कुनै सैन्य रणनीति अन्तर्गतको कार्यक्रम नभएको भन्दै अध्यक्ष नेपाललाई आश्वास्त पार्नुभएको थियो । अध्यक्ष नेपालले भने सत्ता गठबन्धनका सबै दलको सहमतिमा मात्रै एमसीसीलाई अघि बढाउन सकिने धारणा राख्नुभएको थियो ।

सिंहदरबारमा भएको भेटमा अध्यक्ष नेपालले नेपाली जनतालाई कन्भिन्स गराएर मात्रै सो सम्झौता अघि बढाउनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले एमसीसीबारे भ्रमपूर्ण सन्देश दिने काम स्वयम् अमेरिका सरकारबाट भएको टिप्पणी गर्नुभएको थियो ।

विहीवार नै भएको एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा एमसीसी उपाध्यक्ष फातिमाले अनुमोदनको प्रक्रियामा रहेको एमसिसि परियोजनलाई सघाउन आग्रह गर्नुभएको थियो ।

जवाफमा अध्यक्ष ओलीले सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने बताउनु भएको थियो । बालकोटमा भएको भेटवार्तामा अध्यक्ष ओलीले आफ्नो पार्टीले हतारिएर निर्णय नगर्ने बताउनु भएको हो । ओलीले प्रधानमन्त्री हुँदा एमसीसी पारित गर्न जोड दिएपनि हाल विपक्षमा पुगेपछि एमसीसीबारे आफ्नो धारणाबाट यु टर्न लिनुभएको हो ।

अमेरिकी अनुदान सहायता सम्झौता एमसीसीको विषयलाई लिएर नेपालभित्र विवाद देखिएपछि उपाध्यक्ष फातिमा नेतृत्वको टोली सोही विषयमा छलफल गर्न नेपाल आएको हो । टोलीले नेपाल बसाईको क्रममा शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका शिर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

माओवादीलाई अप्ठ्यारो

एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे दलका शीर्ष नेताहरुले कुटनीतिक जवाफ दिएर अप्रत्यक्ष रुपमा आफूहरु अनुमोदनकै पक्षमा रहेको बताएका छन् । तर सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्रले भने यथास्थितिमा एमसीसीलाई समर्थन र अनुमोदन गर्न नसकिने अडान राखेको छ ।

द्धन्द्धकालमा अमेरिकी साम्राज्यवादको खरो आलोचक रहेको माओवादीलाई एमसीसी अनुमोदन गर्न राजनीतिक र सैद्धिन्तिक दुवै अप्ठ्यारो रहेको विश्लेषकहरु बताउछन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिले गठन्बन्धनलाई कमजोर बनाउन एमसीसीलाई प्रयोग गरिएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । अदृश्य शक्ति गठबन्धनलाई भत्काउन लागिपरेको पनि उहाँले बताउनुभएको छ । तर यथास्थितिमा एमसीसी अनुमोदन गराउने पक्षमा आफ्नो पार्टी नरहेको उहाँले प्रष्ट पार्नुभएको छ ।

प्रतिक्रिया