
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशन सुरु भएको छ । विहान ८ बजेबाट अधिवेशन सुरु भएको हो । निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार जिल्लाका ५२ वडा मध्ये २५ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
उनले भने, ‘बिहान ८ बजेबाट वडा अधिवेशन गर्ने गरी समय निर्धारण गरेका थियौं । सोही समयमा अधिवेशन सुरु भइसकेको छ । अहिले मतदाता नामावली प्रकाशित गर्ने काम भइरहेको छ ।’
२७ वडामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिँदै छ । यद्यपि जिल्ला सभापति कर्णबहादुर मल्ल समूहले भने अधिवेशन बहिस्कार गरेको छ ।
मल्ल पक्षको वहिस्कारका बीच अधिवेशन जारी छ । सभापति मल्ल, उपसभापति करुणकर भट्ट लगायत भने अधिवेशन प्रक्रियामा सामेल भएका छैनन् । मल्लसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । करिब ४५ वडाका सभापतिले विज्ञप्ति जारी गरेरै अधिवेशनमा सहभागी जनाइसकेको बुझिएको छ ।
जिल्ला सभापतिका दाबेदार भीम बहादुर साउदले सबै भ्रातृ तथा शुभेच्छुक संस्था र जनप्रतिनिधिको सहभागिता रहेको बताए । जिल्लाभर सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव राख्दा जिल्ला सभापतिले अस्वीकार गरेको साउनको भनाइ छ ।
उनले भने, ‘जिल्लाभर सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव उहाँले स्वीकार गर्नुभएन । तर वडाको नेता कार्यकर्ता अधिवेशनको प्रक्रियामा आइसक्नुभएको छ । सबैले चुनाव चाहनु भएको छ ।’
जिल्ला सभापति बाहेक डडेल्धुराका नेता कार्यकर्ता विवाद गर्ने पक्षमा नरहेको साउनले बताए । ‘सम्माननीय प्रधानमन्त्री तथा पार्टी सभापतिको जिल्लामा कसैले विवाद गर्ने चाहँदैन । तर जिल्ला सभापतिजीले किन गर्न चाहनुभयो थाहा छैन ? उहाँलाई नै थाहा होला,’ उनी भन्छन् ।
मल्ल पक्षले यथास्थितिमा निर्वाचन प्रक्रियामा माग लिने अडान दिएपछि विवादकै बीच अधिवेशन सुरु भएको देखिन्छ । मल्ल पक्षले निर्वाचन अधिकृत बममाथि हातपात समेत गरेको थियो ।क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै सभापति मल्ल पक्षले अधिवेशन स्थगितको घोषणा गरेको थियो । तर जिल्ला सभापतिलाई काउन्टर दिएर निर्वाचन अधिकृतले अधिवेशन अगाडि पठाएको अवस्था छ ।
प्रतिक्रिया