
काठमाडाैं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)मा आवद्ध युवा संगठन वाइसियल नेपालले यथास्थितिमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई स्वीकार नगर्न सरकारलाई सचेत गराएको छ ।
सुमन देवकोटा नेतृत्वको वाइसियल नेपाल केन्द्रीय समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालको संविधानसँग बाझिएका बूँदाहरु नसच्चिएसम्म सो सम्झौंता पारित नगर्न सरकार र संघीय संसदलाई सचेत गराएको हो ।
वाइसियल नेपालका संयोजक देवकोटाले नेपालको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राख्ने कुनै पनि खालका अन्तर्राष्ट्रिय सहयोग, अनुदानहरु स्वीकार गर्न नसकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एमसीसीलगायतका कुनै पनि सहयोग, अनुदानहरु देशको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राखेर स्वीकार गर्न सकिदैन । नेपालको संविधानसँग बाझिएका एमसीसीका बूँदाहरु नसच्याई पारित नगर्न यो राष्ट्रिय भेला सरकारलाई चुनौति दिन्छ ।’
गत भदौं १२ गतेदेखि १५ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले गरेको निर्णयहरु सार्वजनिक गर्दै वाइसियल नेपालले भारतसँग भएको सबै सीमा समस्या तत्काल समाधान गर्न पनि सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया