Pura Samachar
  • दिशाविहीन बन्दै गएको राजनीति

    प्रकाशित: भदौ ३०, २०७८

    दिशाविहीन बन्दै गएको राजनीति

    डा.डी.आर.उपाध्याय

    राजनीतिक दल र तिनका नेताहरु मुलुक प्रति गम्भिर बन्न सकेनन् । जसले गर्दा दलीय ब्यवस्था माथि नै पटक पटक प्रश्न उठिरहेको छ । लामो समय देखि नेपालको राजनीतिले सहि गति लिन सकेको छैन । राजनीति सधै अस्थिरताबाट गुज्रिएको छ । देशले सहि गति लिने सम्भावना अत्यन्त न्यून देखिँदै छ । राजनीतिक दल र तिनका नेताहरु सधैं सरकार गिराउने र बनाउने खेलमा मात्र सीमित बनेका छन । कुनै नेतामा दीर्घकालीन सोच भएन । देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक रूपान्तरणका दिशामा चिन्तन गर्ने कुनै नेता नै छैनन् । राजनीति व्यक्तिवादी बन्दै गएको छ । दलहरूमा सिद्धान्तको कुनै मतलव छैन । बढी सुविधा कसरी प्राप्त गर्ने भन्ने ध्यान दलहरुको छ । यो सोचले राजनीति दिशाविहीन बनेको छ । सरकार प्रमुखको चिन्ता मुलुक प्रति हुनु पर्छ । देशमा सुशासन कायम हुन सकेको छैन । विकास निर्माणका काम पनि त्यस्तै छन । देशको विदेश नीति, छिमेकीलगायत सबै सहयोगी मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई प्राथमिकतामा राखी सबल कूटनीतिक माध्यमबाट देशले आफ्नो पहिचान कायम गर्ने र सहयोगको आदानप्रदान गर्ने विषय छायामा पर्दै आएको छ । दलहरू आफ्नो सिद्दान्त र आदर्शलाई तिलाञ्जली दिँदै व्यक्तिगत र समूहगत स्वार्थमा लिप्त छन् । सिद्धान्त र आदर्शलाई राजनीति गर्ने ब्रान्ड र मतदातालाई राजनीतिक सिद्धान्तका आधारमा आफूतर्फ तान्ने माध्यम मात्र बनाइराखेका छन् । यो यथार्थता सचेत नागरिकहरूले विस्तारै बोध गर्न थालेका छन । जसको कारणले गर्दा यी कुनै पनि दलहरूप्रति सचेत, देशभक्त नागरिकहरू अन्धो समर्थक बन्न सकिराखेका छैनन् । दलहरूको आलोचना गरिराखेका छन् । यथार्थता जनसमक्ष आउँदा कुनै पनि दलले आफ्नो उपस्थिति सबल रूपमा राष्ट्रिय राजनीतिमा दिन सकिराखेका छैनन् ।देशमा व्याप्त भ्रष्टाचार छ । भ्रष्टाचार वृद्धि गर्न सबै दलबीच प्रतिस्पर्धा छ । भ्रष्टाचारकै कारण देश बर्वाद भयो । यसमा सबै दलहरूमा मतैक्यता देखिएको छ । यसले गर्दा देशमा सुशासनको सन्दर्भ छायामा परेको छ । राजनीतिक दलहरू र समाज अनुशासनहीन बन्दै गएको छ । लोकतन्त्रको दुरुपयोग हुँदै गएको छ । यसबाट सबै कार्यकर्ता र नेता वर्गको अर्जुनदृष्टि राष्ट्रिय स्वार्थलाई गौण मान्दै व्यक्तिगत स्वार्थमा केन्द्रित रहने अवस्था सिर्जना भएको छ । यो दूरवस्थाबाट देशले मुक्ति नपाउँदा सबै क्षेत्र अस्तव्यस्त छ परिणामस्वरूप राजनीतिक अस्थिरता हुने नै भयो । सरकारमा रहनेहरूको सकारात्मक प्रभाव र सन्देश जनस्तरमा प्रवाहित हुन सकेको छैन, सीमित झुन्डले प्रसंशा गरिरहँदा नेताहरू मुग्ध छन् यथार्थताभन्दा धेरै टाढा पुगेका छन् । ठूला दलका नेताहरूको दिनको तीनपटक समान सन्दर्भमा बोली फेरिएको अनुभूति गरिरहँदा हाम्रा वृद्ध नेताहरूबाट केही अपेक्षा गर्न सक्ने अवस्था छैन । युवाहरूलाई दलभित्र दासका रूपमा स्थापित गरिएको छ । नेताहरूलाई सही दिशामा अभिमुख गराउने सन्दर्भमा नेपालका युवाहरू प्रायः उदासीन छन् । युवाबीच समेत समान मुद्दामा समान धारणा बनाएर अघि बढ्ने सदविचारको अभाव छ । यसले गर्दा नेतृत्व तहकाहरूले आफ्नो अवस्थाको आँकलनसम्म पनि गर्न सकेका छैनन् । निर्वाचन धेरै खर्चिलो छ । राजनीतिलाई व्यापारका रूपमा ग्रहण गरिएको छ, मिश्रित निर्वाचन प्रणालीको अवलम्बन गर्दै सबै वर्ग, क्षेत्र, जात, जातिको प्रतिनिधित्व गराउन समानुपातिक निर्वाचनमार्फत दलीय मनोनयनका आधारमा जनप्रतिनिधि बन्ने अवसर प्रदान गरिएको छ । यसमा समेत कमजोर व्यक्ति नभई पैसा हुने वर्गहरूले अवसर प्राप्त गरिराखेका छन् । यसबाट नेपालको राजनीति अझै प्रदूषित भएको छ । इमानदार र निष्ठावान् कार्यकर्ता र नेता सधंै पछि पर्ने अवस्था छ । सबैतिर स्रोतसाधन सम्पन्नहरूले अवसर प्राप्त गर्दै आएका छन् । यस अवस्थामा सिद्धान्त र मूल्यमान्यताको राजनीतिको खोजी गर्नुपर्ने हुन्छ ।

    प्रतिक्रिया