Pura Samachar

विश्वमा कोभिडका बिरामीलाई अक्सिजनको अभाव भएर समस्या

प्रकाशित: July 12, 2020

विश्वमा कोभिडका बिरामीलाई अक्सिजनको अभाव भएर समस्या

बीबीसी । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ का १५ प्रतिशत बिरामीमा फोक्सो फेल हुने समस्या हुने हुँदा उनीहरुलाई सास फेर्नका लागि अतिरिक्त साधन आवश्यक पर्दछ । कतिपय बिरामीको स्वासप्रस्वास अवरुद्ध नभए पनि तिनको शरीरमा अक्सिजनको स्तर एकदमै कम हुने हुँदा खतरनाक साबित हुने गर्दछ । यसकारण पनि कोरोना महामारीको समयमा अक्सिजनको माग आकाशिएको छ ।

यस्तोमा हरेक हप्ता कोरोनाका लाखौँ बिरामी थपिँदै जाँदा विश्वलाई एकैदिन ६ लाख २० हजार क्युबिक मिटरसम्मको अर्थात ८८ हजार ठूला सिलिन्डर बराबर अक्सिजन आवश्यक पर्नेछ । र यसमा ८० प्रतिशत बजारलाई थोरै सङ्ख्यामा रहेका कम्पनीहरुले धानिरहेको हुँदा माग उच्च हुनुले आपूर्तिमा अधिक कठिनाइ भइरहेको छ ।

त्यसैले पनि ८ लाख भन्दा बढी संक्रमित फेला परिसकेको भारतमा अहिले अक्सिजनको माग उच्च बिन्दुमा छ । अस्पताल र केयर सेन्टरहरुले हरेक दिन १३०० टन सम्म अक्सिजन उपभोग गरिरहेका छन् ।

गत अप्रिलमा मात्र  पश्चिम भारतको एउटा गाउँमा कोरोनाका बिरामीकै लागि भनेर अत्यन्तै छोटो समयमा २०० वटा बेडको व्यवस्था मिलाइयो तर बिरामीको मुख्य आवश्यकता अक्सिजन जडित नभए, यसले प्रभावकारी रुपमा काम नगर्ने देखियो ।

यसरी महाराष्ट्रमा अवस्थित कस्तुर्बा गैरलाभकारी अस्पतालले अक्सिजनका सिलिन्डरका लागि केही हप्तामै ४० हजार डलर खर्च गरेको हो ।

अस्पतालका उपकरण व्यवस्थापन प्रमुख डाक्टर एसपी खलान्त्री भन्छन्, “यो वास्तवमै हाम्रो लागि धेरै ठूलो चुनौति थियो । किनकि अक्सिजनको पहुँच सहितको अतिरिक्त बेड स्थापित गराउन व्यवहारिक रुपमा बलियो योजना आवश्यक पर्छ । र कोरोनका बिरामीलाई बचाउने सबैभन्दा मुख्य साधन नै अक्सिजन हो । ”

भारतमा मात्र हावाबाट अक्सिजन शुद्धीकरण गर्ने ५०० बढी उद्योगहरु छन् र यसको मेडिकल प्रयोगले १५ प्रतिशत आपूर्तिमा योगदान पुर्याउँदै आएको थियो । बाँकी अक्सिजन भने मुख्यगरी स्टिल र अटोमोबाइल उद्योगमा खपत् हुँदै आएको छ ।

ती कम्पनीहरुले अक्सिनलाई तरल पदार्थका रुपमा अस्पतालमा विक्री गर्ने गरेका छन् जुन सिधै बिरामीको बेडसँग जोडिएको हुन्छ ।  यस्तोमा महामारीले ठूलो रुप लिन थालेपछि भारतमा अक्सिजनको जथाभावी कारोबार हुँदा आधिकारिक तथ्याङ्क निकाल्न कठिन हुँदै गयो ।

यसबारे सरकारको ध्यानाकर्षण भएपछि मात्र जम्मु र कस्मीर क्षेत्र लगायत धेरै ठाउँमा एउटा पनि तरल अक्सिजनको उद्योग नभएको पत्ता लाग्यो ।

यसपछि सरकारले उद्योगमा खपत हुने अक्सिजजन पनि अस्पताल र स्वास्थ्य उपचारमा खर्च गर्ने निर्णय गर्यो । तर यसमा मेडिकल अक्सिजन तुलनात्मक रुपमा धेरै शुद्ध हुन्छ तापनि यसले केही हद्सम्म समस्या समाधान गर्ने अपेक्षा गरिएको थियो । तर त्यस्तो हुन सकेन ।

अहिले भारतका थुप्रै साना आपूर्तिकर्ताहरुले अस्पतालका लागि ठूलो सङ्ख्यामा खरिद गरिएको अक्सिजनको रकम सरकारबाट पाउन नसकेको गुनासो गरिरहेका छन् ।  सरकारले उनीहरुलाई आपूर्ति सुनिश्चित गर्न लगाउने तर पैसा चाहिँ समयमा नतिर्ने गरेको तिनको आरोप छ ।  यसरी कोरोना संक्रमण ससाना शहर र गाउँहरुमा फैलन सुरु गरिसकेको हुँदा पर्याप्त संरचनाको अभावमा ठूलो क्षति अपरिहार्य भएका प्रति चिकित्सकहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया