Pura Samachar

एक साताभित्र सरकारमा सहभागी हुन्छ : अध्यक्ष नेपाल

प्रकाशित: September 19, 2021

एक साताभित्र  सरकारमा सहभागी हुन्छ : अध्यक्ष नेपाल

कास्की । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी एक हप्ताभित्र सरकारमा सहभागी हुने बताउनु भएको छ ।

आज संविधान दिवसको अवसरमा पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एक हप्ताभित्र सरकारमा सहभागी हुने बताउनु भएको हो । उहाँले पहिले क्षमता हुनेहरुलाई मात्रै काम गर्न सरकारमा पठाइने बताउनुभयो । उहाँले अब प्रदेश १ र बागमती प्रदेश सरकार पनि परिवर्तन गर्ने तयारी भईरहेको बताउनुभयो । फरक प्रसंगमा अध्यक्ष नेपालले अब एमालेको नाम सुनेर जनताले नाक खुम्च्याउने अवस्था आइसकेको टिप्पणी गर्नुभयो । केपी शर्मा ओलीले मनोमानी गर्न खोजेको भन्दै उहाँले त्यसको जवाफ जनताले दिने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले ओली सरकारको पालामा भ्रष्टाचारका थुप्रै काण्ड भएको भन्दै छानबिन गर्न माग गर्नुभयो । नेपाल एयरलाइन्स समेत बेच्न खोजेको भन्दै उहाँले यति समूहसँगको सम्बन्धबारे प्रश्न उठाउनुभयो । वाइडबडी खरिदमा भ्रष्टाचार भएको थाहा पाएको, तर छानबिनका लागि फाइल पठाउँदा सुनुवाइ नभएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशमा ओली पक्षले पहिले देखीनै आफूहरुलाई भेदभाव गरेको भन्दै उहाँले अब पीडितहरुको एकता भएर आफुहरु स्वतन्त्र भएको बताउनुभयो ।

प्रतिक्रिया