Pura Samachar

बिपक्षी दलको होहल्लाकैबीच बजेट पारित

प्रकाशित: September 20, 2021

बिपक्षी दलको होहल्लाकैबीच बजेट पारित

काठमाडौं । सरकारले बिपक्षी दलको होहल्लाकै बीच बजेट चालु बर्षको बजेट पारित गरेको छ।

अघिल्लो सरकारले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेटलाई संशोधनसहित नयाँ सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो।

चार दिनअघि नै पारित हुनु पर्ने विधेयक पारित नहुँदा सरकार बेखर्ची भएको छ। सोमवार पारितसँगै सरकारको बजेट पूर्ण कार्यान्वयनमा आएको छ।

सरकारले चालु बर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको थियो। अब यससँगै सरकारलाई ६ खर्ब ७७ अर्ब ९९९ करोड रुपैयाँको चालु खर्च, ३ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ पुँजीगत खर्च गर्ने बाटो खुलेको छ।

सरकारले १० खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। बजेट पारितसँगै सरकारलाई २ खर्ब ८३ अर्ब ९ करोड बैदेशिक ऋण उठाउन र २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन बाटो खुलेको छ।

बजेट पारितसँगै अब सरकारले कोभिडका कारण रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक र असंगठित क्षेत्रका अति विपन्न परिवारले असोजभित्र १० हजार पाउने भएका छन्। यस्तो संख्या करिव ५ लाख रहेको छ।

राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदा गर्ने परिवारले पनि जीवनबृत्तिबापत मासिक ३ हजार पाउने भएका छन् । बजेट पारित नहुँदा कर्मचारी तलब सुविधा, दसैं भत्ता, पेन्सन, सामाजिक सुरक्षा  रोकिएको थियो। तर अब यो सबै खुलेको छ। संसदको अर्को वैठक असोज ७ गते विहीवार दिउँसो २ बजे बोलाइएको छ ।

प्रतिक्रिया