
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा आज पनि सुनुवाइ हुँदैछ ।
हिजो ‘हेर्दाहेर्दै’ मा राखिएको सो रिट निवेदनका सम्बन्धमा अन्तरिम आदेश जारी गर्नु पर्ने हो÷या होइन भन्नेबारे आज इजलासले निर्णय सुनाउने छ । न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भएको उक्त रिट निवेदनमा हिजो निवेदक पक्षका कानुन व्यवसायीले बहस गरेका थिए ।
यसैगरी विपक्षी तर्फका कानुन व्यवसायीले पनि हिजो नै बहस थालेका छन् । तर विपक्षी तर्फका कानुन व्यवसायीको बहस टुङ्गिएको छैन । आज विपक्षी तर्फका कानुन व्यवसायीको बहस टुङ्ग्याएर जवाफी बहस हुने र इजलासले अन्तरिम आदेशका बारेमा फैसला गर्ने सम्भावना छ ।
एमाले अध्यक्ष ओलीले पार्टीबाट कारवाही गरिएका १४ सांसद समेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गर्नु भएको थियो ।
प्रतिक्रिया