
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गर्नुभएको राजनीतिक प्रस्ताव पारित गरेको छ ।
बुधबारको बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रस्ताव सुझावसहित पारित गरेको हो। मंगलबारबाट सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष नेपालको प्रस्ताव समूहगत छलफलपछि पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
अध्यक्ष नेपालको राजनीतिक प्रस्तावमा रामकुमारी झाँक्री, रामचन्द्र साह, रमा आले, श्रीप्रसाद साह र दिनेश राई नेतृत्वमा समूह विभाजन गरिएको थियो । समूह नेताले दिएका सुझावलाई समेत समेटेर बुधबारको बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको हो ।
बुधबारको बैठकमा सुझावको सारांशमा संश्लेषण गर्दै अध्यक्ष नेपालले जबज सिर्जनात्मक अध्याय भएको भन्दै त्यसलाई थप सिर्जनात्मक बनाउने बताउनुभयो । उहाँले एमालेले जनताको बहुदलीय जनवाद (जबज) का सारभूत लक्ष्यलाई पक्रँदै जानेबारे प्रष्ट पार्नुभएको थियो । बुधवार नै सम्पन्न हुने भनिएको वैठक विहीवारसम्मका लागि लम्बिएको छ ।
विहीवार पुनः ११ बजे बस्ने वैठकले पार्टी महासचिवको टुङ्गो लगाउने प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिनुभयो । वैठकले चुनाव चिन्ह टुङ्गो लगाउने भनिए पनि टुङ्गो लगाउन बाँकी रहेको उहाँले बताउनुभयो । यस्तै विहीवार नै पार्टीको राष्ट्रिय सम्मेलन तीन महिनाभित्र सम्पन्न गर्ने गरि मिति तोकिने जानकारी पनि उहाँले दिनुभयो ।
तर वैठकमा पार्टीको नाम परिवर्तन गर्नेबारे भने कुनै छलफल नै नभएको उहाँले प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया