Pura Samachar

थप ५ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक

प्रकाशित: September 26, 2021

थप ५ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

यो सँगै क्रियाशील सदस्यता सार्वजनिक भएको जिल्ला ६९ पुगेको छ । बाँकी ८ जिल्लाको क्रियाशील सदस्यतालाई टुंग्याउने काम भइरहेको कांग्रेसले जनाएको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको तीन सदस्यीय कार्यदलले क्रियाशील सदस्यता विवाद टुंग्याए पनि कार्यान्वयनमा सहमति जुट्न नसकेको हो । प्रदेश दुईका ६ जिल्लासहित रसुवा र कैलालीको क्रियाशील सदस्यता सार्वजनिक गर्न बाँकी छ ।

कांग्रेसमा ६४ जिल्लामा वडामा अधिवेशन सम्पन्न भएर पालिका अधिवेशन शुरु भइसकेको छ । हिजो करिब ५४ जिल्लामा पालिका अधिवेशन सम्पन्न भएको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंसिर ९–१३ सम्म काठमाडौंमा गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया