Pura Samachar

अन्तिम तयारीमा रानीपोखरी

प्रकाशित: July 14, 2020

अन्तिम तयारीमा रानीपोखरी

रानीपोखरीमा आकाशबाट परेको पानी समेत अव पोखरीमा जम्मा हुने र केही दिन पछि पोखरीमा पानी भरिने भएको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत् पोखरीको पिंध र पानी रहने भागको पर्खाल निर्माणको काम सम्पन्न भए पछि अव पानी जम्मा हुने जानकारी गराएका छन्।

उपभोक्ता समितिका अध्यक्ष अजयरत्न स्थापितले काम सम्पन्न भएको जानकारी दिए। २०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि ईंटा ओच्छ्याएएर काम सम्पन्न गरेका थिए।

गत बैशाख १२ अघि यो काम सक्ने तालिका भए पनि लकडाउनका कारण प्रभावित भएकाले ढिलाइ भएको स्थापितले बताए। पोखरीको पिंध र पानी रहने पर्खालको काम सकिएपछि बर्षाको पानी जम्मा हुने स्थापितले बताए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आकासे पानी, त्रिचन्द्र कलेज र दरबार हाइस्कूल क्षेत्रको आकासे पानी संकलन एवं प्रशोधन गरी पोखरीमा पानी राख्ने कार्यलाई प्राथमिकता दिने र नपुग भएमा भूमिगत स्रोतको पानी राख्ने व्यवस्था मिलाउने जानकारी दिए।

दरबार हाइस्कुलको छानाको पानी पोखरीमा खसाल्ने प्रबन्ध भइसकेको छ । त्यसैगरी, टुँडिखेलमा जम्मा भएको पानी ल्याउनका लागि पाइप बिछ्याउने काम पनि भइसकेको रानीपोखरी पुनर्निर्माण हेरिरहनु भएका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए। यी व्यवस्थाबाट पनि पानी पर्याप्त नभए मेलम्चीको पानी पाइपमा हालेर परीक्षण गर्दा रानीपोखरीमा खसाल्ने अन्तिम विकल्प पनि प्राधिकरणको छ ।

रानीपोखरीको पिंध पुनर्निर्माणका लागि सुरुमा भक्तपुरबाट कालिगढ ल्याइएको थियो भने त्यसपछि सीप हस्तान्तरण गरी काठमाडौंका कालीगढ पनि सहभागी भएका थिए । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यकरणको काम जारी छ ।

पोखरी निर्माणको करिब ८५ प्रतिशत काम सम्पन्न भएको प्राधिकरणका प्रवक्ता गोपाल अर्यालले जानकारी दिए।

प्रतिक्रिया