Pura Samachar

७७ यात्रुको ज्यान बचाएपछि सिनियर क्याप्टेन आङ्गेलु शेर्पा बने ‘रियल हिरो’

प्रकाशित: September 27, 2021

७७ यात्रुको ज्यान बचाएपछि सिनियर क्याप्टेन आङ्गेलु शेर्पा बने ‘रियल हिरो’

काठमाडौं । बुद्ध एयरको जहाजलाई ठूलो दुर्घटनाबाट जोगाएर ७७ जनाको ज्यान बचाउने क्याप्टेन आङगेलु शेर्पा अहिले रातारात चर्चामा आएका छन् ।

आइतवार विहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा ल्याण्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको थियो ।  यात्रुसहित काठमाडौं फर्केको जहाजले काठमाडौंको आकाशमा पनि झण्डै दुई घण्टासम्म १० पटक फन्को मारेको थियो ।

सो जहाजमा चालक दलका ४ सदस्यसहित ७७ जना थिए । सो जहाज सिनियर क्याप्टेन आङगेलु शेर्पाले उडाउनुभएको थियो । उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।

अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । जहाजमा भरिएको इन्धन कम गर्ने उदेश्यले धेरैपटक आकाशमा फन्को मारेपछि अनभुवी क्याप्टेन शेर्पाले निकै कुशलतापूर्वक जहाजलाई त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराउनुभएको थियो । जहाजमा सवार सबै यात्रु सकुशल रहेका छन् भने अधिकांश यात्रु आइतवार नै विराटनगरका लागि अर्को जहाजमा उडेका छन् । बाँकी १७ जनालाई बुधवार उडाउने बुद्ध एयरले जनाएको छ ।

ठूलो संकटको भूमरीमा फसिसकेको जहाज र त्यसमा सवार यात्रुहरुलाई सकुशल अवतरण गर्ने सिनियर क्याप्टेन शेर्पाको अहिले सर्वत्र प्रशंसा भैरहेको छ । सामाजिक सञ्जालमा धेरैले अहिले उहाँलाई रियल हिरोको उपमासहित धन्यवाद दिएका छन् ।

प्रतिक्रिया