
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ ।
सोमवार बार साँझ बसेको मन्त्रिपरिषद बैठकले सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
मन्त्रिपरिषदको सिफारिसपछि राष्ट्रपति भण्डारीले सोमवार साँझ भदौ २ गते सरकारले जारी गरेको अध्यादेश खारेज गर्नुभएको हो ।
संविधानको धारा ११४ अनुसार सरकारले संसद अविधेशन नचलेको बेला अध्यादेश जारी गर्न र जुनसुकै बेला फिर्ता लिन सक्ने प्रावधान छ ।
ऐनमा भएको दल विभाजनका लागि केन्द्रीय कमिटि र संसदीय दलमा ४०÷४० प्रतिशत चाहिने प्रावधानलाई हटाएर सरकारले दुईमध्ये एकातिर मात्रै २० प्रतिशत भए पुग्ने गरी अध्यादेश जारी गरेको थियो।
त्यही प्रावधानमा माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्नुभएको छ ।
अध्यादेश फिर्ता लिएपछि मात्र सरकारमा सहभागी हुने उपेन्द्र यादव नेतृत्वको जसपाको अडानपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । अध्यादेश खारेज भएसँगै जसपालाइ सरकारमा सहभागी हुन सहज भएको छ । सम्भवतः जसपाले मंगलवार नै मन्त्रीको टुङ्गो लगाउने सम्भावना रहेको बताइएको छ ।
प्रतिक्रिया