Pura Samachar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ सय ग्राम सुन बरामद

प्रकाशित: September 28, 2021

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ सय ग्राम सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ सय ग्राम सुन बरामद भएको छ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयले अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रबाट १ सय ४९ दशमलव ५ ग्राम सुनसहित सुरूमा दुई जनालाई पक्राउ गरेको हो।

भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-७ का ३३ वर्षीय समुन्द्र दंगाल र बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ४३ वर्षीय सन्तविर राई छन्।

प्रहरीले उनीहरूलाई आइतबार पक्राउ गरेको थियो। समुन्द्रले सिंगापुर एयरलाइन्समार्फत् मलेसियाबाट सिंगापुर हुँदै काठमाडौं आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाएको प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।

यात्रुहरूलाई उक्त परिमाणको धातु लुकाइछिपाइ लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको थियो।

थप सोधपुछको क्रममा राईको पनि संलग्नता रहेको भन्ने खुल्न आएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो।

यसैगरी, विमानस्थलबाट सोही दिन ७ सय ५० ग्राम सुन बरामद गरेको थियो। १४ वटा बाला र एउटा सिक्री प्रहरीले बरामद गरेको थियो।

सिंगापुर र मलेसियाबाट काठमाडौं आएका १५ यात्रुहरूलाई भन्सार छली गर्न लगाएका थिए। ती यात्रुहरूले ल्याएको सुन विमानस्थलमा संकलन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो।

‘यात्रुहरूले ल्याएको सुन उनीहरूकै होइन। अर्कै व्यक्तिले लगिदिनू भन्दै पठाएका हुन्,’ प्रहरी वरिष्ठ उपरीक्षक बाँस्तोलाले भने।

उनीहरूलाई मलेसियाको विमानस्थलबाट नामथर नखुलेका व्यक्तिले दिएर पठाएको प्रहरीले बताएको छ।

काठमाडौं पुगेपछि सामान विमानस्थल वरिपरिका होटलमा रिसिभ गर्न आउने भन्ने सूचना दिइएको थियो।

बरामद सुन तथा पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

प्रतिक्रिया