Pura Samachar

यस वर्ष पनि दसैंका लागि च्याङ्‍ग्रा बिक्री वितरण नगर्ने: खाद्य व्यवस्था कम्पनी लिमिटेड

प्रकाशित: September 29, 2021

यस वर्ष पनि दसैंका लागि च्याङ्‍ग्रा बिक्री वितरण नगर्ने: खाद्य व्यवस्था कम्पनी लिमिटेड

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दसैंका लागि च्याङ्‍ग्रा बिक्री वितरण नगर्ने भएको छ ।  दसैंका लागि च्याङ्‍ग्राको विक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री नगर्ने जनाएको हो । बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दसैँमा खसी बोका तथा च्याङ्‍ग्राको बिक्री वितरण गर्दै आएको भएतापनि यसवर्ष खसी÷बोका मात्र बिक्री हुने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

उनका अनुसार बजार मूल्य नियन्त्रण गर्ने निकायले नै बढी मूल्यमा बिक्री वितरण गर्नुभन्दा नल्याउने निर्णय भएको हो । “एक हजार च्याङ्ग्रा ल्याउने निर्णय अनुसार हामीले तयारी थालेका थियौँ, कोरोना सङ्क्रमणका कारण यस वर्ष तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङमा धेरै महँगो भएर ल्याइएन”, उनले भनिन्। कम्पनीले गत वर्षको दसैँमा पनि च्याङ्ग्राको मूल्य बढेको भन्दै बिक्री वितरण गरेको थिएन ।

मुस्ताङबाट च्याङ्ग्रा नआए पनि दाङ र मकवानपुरको पहिलो लटमा एक हजार ७०० खसी तथा बोका ल्याउने तयारी पूरा भएको जनाएको छ । सूचना अधिकारी न्यौपानेले दाङबाट एक हजार र मकवानपुरको ७०० खसी तथा बोका ल्याउने तयारी भएको जनाउँदै आवश्यकता अनुसार थप खरिद गर्ने जानकारी दिइन् । दुई जिल्लाबाट ल्याइएको खसी तथा बोका कम्पनीले थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट फूलपातीको दिनबाट बिक्री सुरु गर्ने जनाएको छ ।

कम्पनीले दसैँका लागि प्रति किलो खसी तथा बोकामा रु दश छुट दिएको छ । यही असोज १ गतेदेखि कम्पनीले ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट चामल, दाल, चिउरा, पिठो र खाने तेलमा रु पाँच तथा भटमासको तेल र कर्णीको सिमिमा रु १० छुट दिएको छ ।

प्रतिक्रिया