
काठमाडौं। सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशकमा प्रकाश पौडेललाई ल्याएको छ। विभागमा रहेका महानिर्देशक रामप्रसाद आचार्य गण्डकी प्रदेशमा सरुवा भएका छन्।
पौडेल यसअघि वाणिज्य तथा उपभोक्ताहित संरक्षण विभागका महानिर्देशक थिए।
पौडेलले विहीबार पत्र बुझ्ने र शुक्रबार वा आइतबार विभागको नेतृत्व सम्हाल्नेछन्। पौडेल बाणिज्य विभाग आउनु अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए।
प्रधानमन्त्री शेरबहादुर देउवा निकट रहेका पौडेलले शक्तिशाली विभाग पाएका छन्। देउवा यसअघि प्रधानमन्त्री हुँदा प्रशासनिक निकायबाट सचिवालयमा थिए।
राजस्व चुहावट नियन्त्रणका लागि विभाग महत्वपूर्ण मानिन्छ। केपीशर्मा ओलीको पालामा प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको यो विभाग शक्तिशाली मानिन्छ। विभागले ठूला व्यवसायिक घरानाका केही मुद्दा अदालतमा दर्ता गरिसकेको छ भने केही मुद्दा अनुसन्धानको क्रममा छ।
त्यस वाहेक पछिल्लो समयमा मदिराको नक्कली अन्त:शुल्क स्टीकरको समेत अनुसन्धान टुंगोमा पुर्याउनुपर्नेछ। दुई महिना अघि बुटवलमा बरामद भएको नक्कली स्टीकरको अनुसन्धान फितलो छ।
विभागले प्रभावकारी रुपमा आफ्नो काम अघि बढाउन नसकेको भन्दै आलोचना समेत भइरहेको छ। पौडेलले यो अनुसन्धानलाई टुंगोमा पुर्याएर दोषी मदिरा उद्योगीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने चुनौति छ।
प्रतिक्रिया