
आज बस्ने भनिएको सत्ता गठबन्धनको बैठक अनिश्चित भएको छ । आइतबारयता सत्ता गठबन्धनको बैठक बस्नै सकेको छैन । जसले गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको छ । आइतबारको बैठकले तत्काल अर्को बैठक बसेर मन्त्रालय बाँडफाँट गर्दै मन्त्रिमण्डल विस्तार गर्ने सहमति गरेको थियो ।
बैठक बस्न नसक्नुको कारणबारे गठबन्धनकै नेताहरु नाजवाफ छन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ भएको कारण देखाउँदै बैठक सारिरहेका छन् ।
आइतबारको बैठकमा देउवाले मंगलबारभित्र नै बैठक बसेर बुधबारसम्ममा मन्त्रालय बाँडफाँट टुंग्याउने बताएका थिए । तर, उनले त्यसयता बैठक नै नबोलाएपछि गठबन्धनकै नेता अन्योलमा परेका छन् । ‘बुधबार नै बैठक राखेर टुङ्ग्याउने कुरा थियो तर शुक्रबार भैसक्यो बैठक बस्ने तरखर अझै देखिएको छैन’ गठबन्धनका एक नेताले भने, ‘प्रधानमन्त्रीले बैठक नबोलाएसम्म मन्त्रिपरिषदले पूर्णता पाउने देखिँदैन । उहाँले किन नबोलाएको हो बुझ्न सकिएन ।’
प्रतिक्रिया