Pura Samachar

सत्ता गठबन्धनमा नयाँ किचलो

प्रकाशित: October 4, 2021

सत्ता गठबन्धनमा नयाँ किचलो

काठमाडौं । सत्ता गठबन्धनमा किचलो देखिएको छ ।

मन्त्रालय र मन्त्रीको भागबन्डा शक्तिका आधारमा गर्ने कि समानताका आधारमा गर्ने भन्नेबारेमा गठबन्धन दलबीच मत बाझिँदा किचलो देखिएको हो । नयाँ किचलोले मन्त्रिपरिषद् विस्तार अझ लम्बिने भएको छ । धकेलिएको छ ।  एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार कांग्रेस र माओवादी केन्द्रले सांसद संख्याका आधारमा मन्त्रालय र मन्त्री भागबन्डा गर्नुपर्ने बताएपछि गठबन्धनमा विवाद बढेको हो ।

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समानताका आधारमा भागबन्डा गर्नुपर्नेमा जोड दिएका थिए । ‘वर्तमान सरकार चारवटै शक्ति मिलेर बनेको र यसमा सबैको समान योगदान भएकाले समानताको सिद्धान्तअनुसार अघि बढ्नुपर्ने आफूहरुको अडान रहेको पाण्डेले बताउनुभयो । तर कांग्रेस–माओवादीले भने संख्याका आधारमा मापदण्ड बनाउनुपर्छ भन्ने रटान लिएपछि आइतवार बसेको गठबन्धन बैठमा कुनै सहमति जुट्न नसकेको उहाँले जानकारी दिनुभयो । फेरि छलफल गर्ने गरी बैठकबाट नेताहरु उठेको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभामा कांग्रेसका ६३, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३ र जसपाका १९ सांसद छन् । एक सांसद रहेको गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नहुने निर्णय गरेको छ । सांसद संख्याका आधारमा मन्त्रीको संख्या निर्धारण गर्दा सरदर कांग्रेसले प्रधानमन्त्रीसहित १०, माओवादीले ८, एकीकृत समाजवादीले ४ र जसपाले ३ मन्त्री पाउने अवस्था छ ।

प्रतिक्रिया