साउन ४, २०७७ कोरोना महामारी सुरु भएपछि एकैदिन पहिचान गरिएका संक्रमितको संख्या रेकर्ड फेरि तोडिएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ६० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन्। अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित भेटिएका छन्। हालसम्म भेटिएकामध्ये करिब ८६ लाख अर्थात ६० प्रतिशत संक्रमित ठीक भएका छन्। यतिखेर विश्वमा ४० पहिचान भएकामध्ये ४० प्रतिशत संक्रमित उपचारको प्रकृयामा छन्। पछिल्लो २४ घण्टाभित्र विश्वभर सात हजार ३६० जना संक्रमितको ज्यान गएको छ। एकैदिन भएको मानवीय हताहतीको यो संख्या गत महिना (मे) पछि सबैभन्दा धेरै हो। अहिलेसम्म विश्वभर एक करोड ४२ लाख २३ हजार १३२ जना कोरोना संक्रमित भेटिएका छन्। यी मध्ये ६ लाख ६३९ जना संक्रमितले ज्यान गुमाएका छन्। संक्रमित संख्या र मानवीय हताहतीका हिसाबमा अमेरिकाले जारी महामारीबाट सबैभन्दा धेरै क्षति व्यहोरेको छ। त्यहाँ ३७ लाख ६ हजार ९२७ जना संक्रमित भेटिएकामा एक लाख ४० हजार १०३ जनाको ज्यान गइसकेको छ। अमेरिकापछि ब्राजिलमा अन्यत्रभन्दा धेरै संक्रमित छन्। त्यहाँ अहिलेसम्म २० लाख ७४ हजार ८६० जना संक्रमित पहिचान भएको छ। यी संक्रमितमध्ये ७८ हजार ७२२ जनाको मृत्यु भएको छ। तेस्रो स्थानमा रहेको भारतमा १० लाख ३८ हजार ७१६ जना संक्रमित भेटिएका छन्। २६ हजार २७३ जनाको ज्यान गएको छ। दिनहुँ नयाँ संक्रमित थपिँदै गएपछि चीनले पश्चिम सिञ्जियाङ्ग क्षेत्रको राजधानी उरुम्चीमा युद्धकालिन स्थिति घोषणा गरिदिएको छ। यो क्षेत्रमा शनिबार १७ जना नयाँ संक्रमित फेला परेका थिए। लगत्तै चीनले सो क्षेत्रभित्र आवागमनमा समेत प्रतिबन्ध लगाएको छ। सबै हवाई उडान बन्द गरिएको छ। सिञ्जियाङ्गमा विशेषगरी वीगर मुसलमान र तुर्क अल्पसंख्यकको बसोबास रहेको छ। चीन सरकारले कडा नियन्त्रण र निगरानी राखेको उरुम्ची शहरको जनसंख्या करिब ३५ लाख छ। जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार चीनमा अहिलेसम्म करिब ८५ हजार संक्रमित फेला परेका छन् भने चार हजार ६०० जनाले ज्यान गुमाएका छन्। चीनको उहान शहरबाटै कोरोना महामारी फैलिएपछि अहिले मानवीय हताहतीका हिसाबले चीन विश्वका अतिप्रभावित २० मुलुकको सूचीभन्दा पनि बाहिर छ। कोरोना भाइरसको भ्याक्सिन बनाउन भइरहेको अनुसन्धानमा जासूसी गरिरहेको आरोप लागेपछि बेलायतस्थित रूसका राजदूत आन्द्रेई केलिनले त्यसको खण्डन गरेका छन्। बीबीसी वनलाई दिएको अन्तर्वार्तामा उनले यस्तो कथामा आफूले विश्वास नगर्ने बताएका हुन्। कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन काम गरिरहेका संगठनहरूमा साइबर हमला भएपछि बेलायत, क्यानडा र अमेरिकाको खुफिया एजेन्सीहरूले यसमा रुसी जासुसको हात रहेको आरोप लगाएका थिए। संक्रमित संख्या थपिँदै गएपछि स्पेनको बार्सिलोना शहरका ४० लाख मानिसहरुलाई घरभित्रै बस्न आदेश दिइएको छ। उत्तरपूर्वी क्षेत्र क्याटालोनियामा पछिल्लो पटक एक हजार २०० जना नयाँ संक्रमित फेला परेका छन्। फ्रान्सले पनि स्पेनसँगको सीमामा कडाई गरिएको जनाएको छ। इरानका राष्ट्रपति हसन रुहानीले करिब दुई करोड ५० लाख इरानी संक्रमित भएको र यो संख्या तीन करोड ५० लाखसम्म पुग्नसक्ने बताएका छन्।
प्रतिक्रिया