Pura Samachar

भारतले नेपाललाई हरायो

प्रकाशित: October 11, 2021

भारतले नेपाललाई हरायो

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपाललाई भारतले पराजित गरेको छ। आइतबार राति माल्दिभ्सको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई भारतले १-० गोलले पराजित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ मिनेटमा भारतले अग्रता लिएको थियो।

भारतका लागि कप्तान सुनील क्षेत्रीले गोल गरेका थिए। उनले सिक्स यार्ड बक्समा फारूख चौधरीले हेडमार्फत दिएको पास गोल गरेका थिए।

त्यसअघि नेपालका कप्तान किरणकुमार लिम्बुले भारतका मनवीर सिंहको हेडरलाई उत्कृष्ट बचाउ गर्दै नेपालको संकट टारेका थिए।

पहिलो हाफमा भने सुनीलले पाएको सुन्दर मौका खेर फालेका थिए। सिक्स यार्ड बक्सबाट हानेको उनको प्रहार थोरैले आउट भएको थियो।

जारी साफमा भारतको यो पहिलो जित हो। यसअघि भारतलाई श्रीलंका र बंगलादेशले बराबरीमा रोकेका थिए।

नेपालको भने यो पहिलो हार हो। यसअघि नेपालले सुरुवाती दुई खेलमा जित हात पारेको थियो। नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो।

साफको अंक तालिकामा माल्दिभ्स ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेपालको पनि ६ अंक नै छ।

प्रतिक्रिया