Pura Samachar

विहीवार दुर्गा भवानीको पूजाआजा गरि महानवमी पर्व मनाइँदै

प्रकाशित: October 14, 2021

विहीवार दुर्गा भवानीको पूजाआजा गरि महानवमी पर्व मनाइँदै

काठमाडौं । बडादशैंको नवौं दिन विहीवार महानवमी पर्व दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ ।

महानवमीका दिन दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइने परम्परा छ । दशैंघर र कोतलगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवं देवीस्तोत्र पाठ गर्ने परम्परा छ । पशुबलि नदिनेहरूले भने कुभिन्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस चढाउने गर्दछन् । कतिपय शक्तिपीठमा भने हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । आजको दिन बिहान कलपूर्जा, हातहतियार तथा सवारीका साधनको समेत पूजा गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दश वर्षसम्मका नवकन्याको पनि पूजाआजा गरिन्छ ।

यसैबीच, विहीवार महानवमीको अवसरमा हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर सर्वसाधरणका लागी खुला गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिर गत वर्ष कोरोना जोखिम बढी भएकाले बन्द गरिएको थियो ।

यस वर्ष धेरैले खोप लगाइसकेको र जोखिम पनि कम भएकाले खुला गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । प्रत्येक वर्ष महानवमीका दिन धेरै भक्तजन तलेजु भवानीको दर्शन गर्न हनुमानढोका दरबार क्षेत्रमा लाइन लाग्ने गर्छन् ।

प्रतिक्रिया