
काठमाडौं- बडादशैंमा बन्द भएका सरकारी कार्यालय आइतबारदेखि खुलेका छन् ।
राजधानी काठमाडौं उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ ।
आज सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएकाले काठमाडौं उपत्यकामा सवारी देखि छ ।
दशैंमा सुनसान प्रायः बनेको काठमाडौंमा नियमितजसो सबै प्रकारका सेवा सञ्चालनमा आएका छन् ।
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बाक्लिएको छ ।
सबैजसो मन्त्रालयमा मन्त्री, कर्मचारी तथा आगन्तुकको बाक्लो उपस्थिति देखिन्थ्यो ।
विभिन्न मन्त्रालयका मन्त्री पनि कार्यालय पुगेर नियमित काममा व्यस्त देखिनुहुन्थ्यो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्रालय पुगेर नियमित काममा व्यस्त रहनुभएको उहाँका स्वकीय सचिव रामजी थापाले जानकारी दिनुभयो ।
अन्य विभागीय मन्त्री पनि नियमित काममा व्यस्त हुनुभएको छ ।
दशैंको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ ।
विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउने चलन छ ।
काठमाडौं उपत्यकामा पनि दशैंको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लोरूपमा देखिएको छ ।
उपत्यकामा औषधि, खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज पनि काठमाडौं उपत्यकामा दशैंको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ ।
बाक्लो सङ्ख्यामा सवारी साधन चले पनि ट्राफिक जाम नरहेको ट्राफिक प्रहरीको भनाइ छ ।
दशैं मनाउन गाउँघर गएका सर्वसाधरण पनि धमाधम काठमाडौं भित्रिरहेका छन् ।
कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा दशैं मनाएर राजधानी फर्कनेको भिडभाड देखिन्छ ।
मानिसको चहलपहल र सवारीसाधनको आवतजावत तथा बजार पसल पनि क्रमशः खुल्न थालेकाले राजधानी काठमाडौं पुरानै लयमा फर्कन थालेको अनुभूति हुन्छ ।
प्रतिक्रिया