एजेन्सी । अमेरिका र ब्राजिलपछि संक्रमणको सङ्ख्या १० लाख पुग्ने भारत तेस्रो देश हो । शुक्रबार मात्र भारतमा कोरोनाभाइरसले संक्रमित बिरामीको सङ्ख्या १० लाख पुगेको भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो । विश्वको दोस्रो ठूलो जनसङ्ख्या भएको यो देश कसरी त्यो अवस्थामा पुग्यो त ?
भारतमा पहिलो संक्रमण दक्षिणतर्फ केरेलास्थित जनवरी ३० मा भेटिएको थियो जहाँका बिरामी चीनको वुहान शहरबाट आएका थिए । त्यतिबेला एसियाका अन्य क्षेत्रमा संक्रमण तीव्र रुपमा फैलिरहे पनि भारत भने हप्तौँसम्म यसबाट त्यति प्रभावित थिएन । मार्च १३ मा मात्र त्यहाँ कोरोनाका बिरामीको पहिलो मृत्यु भएको हो जतिबेला संक्रमण सङ्ख्या केबल ७३ थियो ।
यसरी बिरामीको सङ्ख्या तुलनात्मक रुपमा थोरै भएकै बेला सरकारले यस विरुद्ध कदम पनि उठायो । मार्च ११ मै भारतले सम्पूर्ण पर्यटन भिसा रद्द गरायो भने मार्च २२ देखि अन्तर्राष्ट्रिय उडानमा पनि प्रतिबन्ध लगाएको हो । यसरी मार्च २५ मा संक्रमण सङ्ख्या ५१९ र १० जनाको मृत्यु भएका बेला भारतले देशव्यापी लकडाउन जारी गरायो ।
तर एक महिनापछि मे ३० का दिन भारतले लकडाउन खुकुलो बनाउँदाखेरि भने संक्रमण सङ्ख्या झन्डै दुई लाख पुगिसकेको थियो र अझै तीव्र रुपमा बढिरहेको अवस्थामा थियो । भारतमा धेरैका लागि लकडाउन अत्यन्तै कठिन र चुनौतीमय समय रह्यो । किनकि त्यहाँका बढी शहरी जनसङ्ख्या अत्यन्तै भरिभराउ ठाउँमा बस्छन् जहाँ सामाजिक दुरी कायम राख्नु कसैका लागि सम्भव छैन ।
त्यसबीच दैनिक श्रम गर्ने हजारौँ कामदारहरु बिना जागिर, बिना खाना बाँच्नुपर्ने अवस्था आयो जसकारण धेरैजना हिँडेर जोखिम मोलेर भए पनि आफ्नो गाउँतर्फ लागे । यसपछि देशव्यापी लकडाउन खुलाइए पनि कतिपय स्टेटले छुट्टै प्रतिबन्ध जारी गराए र कतिले त लकडाउन नै हटाएनन् तर पनि चार महिनामा यो देश ५०० संक्रमितबाट १० लाख बिरामीको अवस्थामा पुगेको छ ।
भारतको सार्वजानिक स्वास्थ्य निकायका निर्देशक सन्जय रायका अनुसार लकडाउनले संक्रमण फैलावटलाई ढिलो पार्नमा ठूलो मद्दत गर्यो र सम्बन्धित निकायहरुलाई पीपीईलगायत स्रोतसाधनको जोहो गर्न पनि यसले समय दिलायो । तर ती सुरुवाती कदमले भारतलाई कोरोना महामारीको संकटबाट धेरैबेर जोगाउन सकेन ।
संक्रमण तीव्र बन्दै गए पनि देशभर यो समान रुपमा भने फैलिएन । जस्तै कि ५६ प्रतिशत संक्रमितहरु, ३६ प्रदेशमध्ये तीनवटामा सीमित छन्– महाराष्ट्र, दिल्ली र तामिल नाडु । यी तीनैवटा शहर भारतका सबैभन्दा व्यस्त र अधिक जनसङ्ख्या बसोबास गर्नेमा पर्दछन् । मुम्बइ महाराष्ट्रमा पर्दछ जहाँ अहिले २८ प्रतिशत बिरामी छन् ।
त्यसैगरी भारतको ‘एक्टिभ केस’ सम्हाल्ने तरिका पनि आश्चर्यजनक मानिएको छ ।
किनकि त्यहाँ सामान्य लक्षण भएका बिरामीलाई त्यसको १० दिनपछि एक्टिभ मानिँदैन र लक्षण हराउँदै गएमा उनीहरुको परीक्षण नगराइ बाहिरिन दिइन्छ । गम्भीर लक्षण देखाउनेहरुलाई मात्र कोरोनाको टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारी राजेश भुसनका अनुसार यतिबेला ५० प्रतिशत संक्रमित महाराष्ट्र र तामिलनाडुमा छन् । यस्तोमा सबैभन्दा नराम्ररी प्रभावित कतिपय शहरमा एउटा पूरै देश भन्दा धेरै बिरामी उपचाररत छन् । महाराष्ट्रमै मात्र इरानमा भन्दा धेरै संक्रमित फेला परेका छन् । त्यस्तै दिल्लीमा पनि संक्रमितको संङ्ख्या क्यानडा, अर्जेन्टिनामा भन्दा धेरै छ । दिल्लीका अस्पतालहरु यतिबेला बिरामीको चापले अत्यन्तै ठूलो दबाबमा छन् ।
तर अर्कोतर्फ देशका कतिपय स्थानमा भने भाइरस दुर्लभै भेटिएको छ । जस्तै लक्सदिपमा अहिलेसम्म एकजनामा पनि संक्रमण देखा परेको छैन ।
र, पाँच अन्य स्टेटहरुमा चाहिँ कोरोनाका कुनै बिरामीको मृत्यु भएको छैन । यसबारे भारतका एक स्वास्थ्यविद्ले भनेका छन्, “भारत एउटा देश होइन जनसङ्ख्याका आधारमा ३० वटा देश बराबर छ । त्यसैले पनि यति ठूलो भिन्नता देखिएको हो । ”
यसरी भारतमा संक्रमण सङ्ख्या अधिक भए पनि मृत्यदर अझै तुलनात्मक रुपमा कम रहेको सरकारी अधिकारीहरुको भनाइ छ । हाल भारतमा प्रति १० लाखमानिस मध्ये १९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । चीनमा भने प्रति १० लाखमा तीन मृत्युका दरले रहेको थियो । यस्तोमा विश्वविद्हरुले भारतका युवा जनसङ्ख्याका कारण पनि धेरै ठूलो क्षति नपुगेको बताइरहेका छन् ।
कोभिड–१९ ले युवालाई भन्दा वृद्ध र संवेदनशीलहरुको ज्यान लिने सम्भावना अधिक रहेको प्रमाणित भइसकेको छ । र, भारतको ४४ प्रतिशत जनसङ्ख्या २४ वर्ष भन्दा कम उमेरको रहेको छ र केबल १५ प्रतिशत मात्र ५५ पार गरेकाहरु छन् । यसकारण पनि भारतको ७५ प्रतिशत जनसङ्ख्या कोरोनाका कारण हुन सक्ने मृत्युको ठूलो जोखिममा नरहेको भुशनले अघिल्लो महिना संचारकर्मीहरुसँग बताएका हुन् ।
यसमा तुलनात्मक रुपमा बेलायतलाई हेर्ने हो भने त्यहाँ केबल २९ प्रतिशत जनसङ्ख्या २४ वर्ष भन्दा कम उमेरको रहेको छ र ३१ प्रतिशत मानिसहरु ५५ पार गरिसकेका छन् । त्यसैले मार्च र अप्रिलको तथ्याङ्क हेर्दा भाइरस संक्रमणबाट मृत्यु हुने ९३ प्रतिशत ६० वर्ष उमेर पार गरिसकेका थिए । त्यस्तै भारतको तुलनामा अमेरिकाले विश्व जनसङ्ख्यामा ४ प्रतिशत मात्र योगदान पुर्याउँछ तर विश्वभरमा २६ प्रतिशत कोरोना संक्रमित अमेरिकाकै रहेका छन् जसले पनि भारत त्यति भयानक अवस्थामा नपुगिसकेको देखाउँछ ।
तरपनि महामारी अझै जारी रहेको हुँदा भारतले आगामी दिनहरुमा धेरै नराम्रा खबरहरुको सामना गर्न बाँकी नै रहेको बताइएको छ ।
स्वास्थ्यविद्हरुका अनुसार भारत अझै चरम बिन्दुमा पुगेकै छैन । र संक्रमण सिमित गर्ने कुरा यतिबेला सामुदायमा बढी निर्भर रहेको देखिएको छ । त्यसैले विश्वको तेस्रो ठूलो कोरोना एपिसन्टेर बनेको भारत अहिले कोरोना नियन्त्रण गर्न हतासिएको छ । जोन होप्किन्स युनिभर्सिटीको तथ्याङ्क अनुसार आइतबार बेलुकासम्म भारतमा १० लाख ७७ हजार ७८१ जना संक्रमित छन् भने २६ हजार ८१६ को मृत्यु भइसकेको छ । सीएनएन
प्रतिक्रिया