साउन ५, २०७७ काठमाडौं : हरेक वर्ष साउनको पहिलो सोमबार भक्तजनको घुइँचो लाग्ने पशुपतिनाथ मन्दिर परिसरमा यसपटक त्यति भीडभाड छैन। कोरोना (कोभिड-१९) महामारीका बीच मन्दिरमा भीडभाड नगर्नु नै भक्तजनले उचित ठाने सायद ! पशुपति क्षेत्र विकास कोषले पनि मन्दिर खोल्न असमर्थ रहेको जानकारी दिइसकेको थियो। त्यसैले अघिल्ला वर्षमा आधारातदेखि नै गर्भगृह दर्शनका लागि लाम लाग्ने अधिकांश भक्तजन यसपटक पशुपतिमा पुगेनन्। चैत ११ गतेदेखि नै पशुपतिनाथ मन्दिर बन्द गरिएको छ। नित्य पूजा चाहिँ जारी छ। महामारीकै बीच पनि केही भक्तजनहरू भने यसपटक पनि पशुपति मन्दिर परिसर पुगे। अविरल वर्षामा भिज्दै पशुपति पुगेका भक्तजनहरू मन्दिरभित्र जान नपाएपनि बाहिरैबाट पूजाआजा र दर्शन गरी फर्किए। आज बिहान पशुपतिमा जति दर्शनार्थी र भक्तजन देखिए, ती मध्ये अधिकांश मानिसहरू जारी कोरोना महामारीसँग त्यति नडराएजस्तो लाग्थ्यो। अधिकांशले मास्क लगाएको देखिएन भने भौतिक दुरी कायम गर्ने मामिलामा पनि उनीहरू त्यति संवदेनशील देखिएनन्।यस्तो संकटका बीच पनि पशुपति मन्दिर पुगेका भक्तजनहरूलाई देख्दा लाग्थ्यो : मन्दिर पो बन्द त, भक्तजनको हृदय त खुला छ नि !
तस्बिरहरू :
प्रतिक्रिया