Pura Samachar

एमालेको महाधिवेशन चितवनमा

प्रकाशित: October 22, 2021

एमालेको महाधिवेशन चितवनमा

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन बाग्मती प्रदेशको चितवनमा गर्ने निर्णय गरेको छ ।

यसअघि उक्त महाधिवेशन लुम्बिनी प्रदेशको बुटलवमा हुन सक्ने जनाइएकामा पार्टीको आठौँ महाधिवेशन पनि सोही स्थानमा भएकाले फरक स्थानमा गर्न माग उठेको थियो ।

आगामी मंसिर १० देखि १२ गतेसम्म नयाँ नेतृत्व चयनका लागि महाधिवेशन तय गरिएको छ ।

पार्टीको बाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको बुधबारको बैठकले आफ्नो प्रदेशमा महाधिशन गर्न नेतृत्वलाई आग्रह गरेको थियो ।

एमालेको आज भएको स्थायी कमिटी बैठकले उक्त महाधिवेशन सम्पन्न गर्न नेता एवं बाग्मतीका इञ्चार्ज रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन पनि गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

व्यवस्थापन कमिटीमा योगेशकुमार भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पाखरेल, कपिल पोखरेल, विष्णुभक्त पोखरेल, पार्वती रावलसहित सात वटै प्रदेश र सम्पर्क कमिटीका प्रतिनिधि रहने छन् ।

आमरुपमा तोकिएकै मितिमा वडा र स्थानीय पालिकाको अधिवेशन हुने र बाढी पहिराबाट प्रभावित स्थानमा केही पर सर्न सक्ने प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

एमालेले वडास्तरमा यही कात्तिक ६ र पालिकास्तरमा कात्तिक ९ गते अधिवेशन गर्ने तय गरेको छ ।

प्रतिकृया दिनुहोस

प्रतिक्रिया